बाके । बाकेको नरैनापुरमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन् ।नरैनापुर गाउँपालिका–४ खोदावा गाउँमा शनिबार दिउँसो भएको आगलागी राति ११ बजेतिर नियन्त्रणमा आएको हो । आगलागीमा परी चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । घाइतेहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।
हुरी चलेकाले बस्तीभरि आगलागी फैलिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । गाउँमा अधिकांश घर फुसको छानोका रहेकाले पनि आगलागी चाँडै नियन्त्रणमा ल्याउन नसकिएको उनले बताए ।आगलागीबाट खाद्यान्न, कपडा जलेर नष्ट भएका छन् । आगलागीबाट करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको गाउँपालिका अध्यक्ष शाहले बताए ।
नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौं पटक हो । आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई खाने र बस्ने व्यवस्था गरेका छन् ।
जिल्ला आपतकालीन कार्य सञ्चालन सूचना केन्द्रका व्यवस्थापक रुपन ज्ञवालीका अनुसार फागुन र चैत महिनामा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् । अव्यवस्थित बसोबास र कमजोर संरचनाका कारण आगलागीका घटना बढेको ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०७७, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि