म्यानमार प्रदर्शन : थप ५ जनाको मृत्यु

एजेन्सी

शनिबार, २१ चैत्र २०७७, १३ : ०८
म्यानमार प्रदर्शन : थप ५ जनाको मृत्यु

file Photo

म्यानमार । म्यानमारमा प्रजातन्त्रको पक्षमा प्रदर्शनमा उत्रिएकामाथि सैनिक सत्ताले बल प्रयोगको क्रमलाई निरन्तरता दिइरहँदा शनिबार पाँचजनाको ज्यान गएको छ।

गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएपछि लगातार विरोध प्रदर्शन हुँदै आएको छ।

सैनिक सत्ताले प्रजातन्त्रको पक्षमा प्रदर्शन गरिरहेकाहरुमाथि बल प्रयोग गरिरहेको छ। सोही क्रममा शनिबार भएको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर पाँचजनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ।

गएको फेब्रुअरी १ यता सैनिक कू को विपक्षमा भएका प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण ५५० जना भन्दा बढिको ज्यान गइसकेको छ। तर प्रदर्शन लगातार जारी छ र सुरक्षा फौजको बल प्रयोग पनि उस्तै रहेको छ।

शनिबार सुरक्षाकर्मीको गोली लागेर मोनीवा शहरमा तीनजना तथा बागो र थातोनमा एक–एक जनाको ज्यान गएको म्यानमारनाव न्यूजलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।