प्रधानमन्त्रीद्वारा मानन्धर र रावलको निधनप्रति दुःख व्यक्त

रासस

मंगलबार, १७ चैत्र २०७७, २० : ५४
प्रधानमन्त्रीद्वारा मानन्धर र रावलको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष विष्णुबहादुर मानन्धर र कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । 

आज छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै उहाँले दुवै जनाको निधनले  नेपालको कम्युनिष्ट आन्दोलनमा क्षति पु¥याएको तथा निष्ठावान्, सादगी र इमान्दार नेतालाई गुमाउन परेको बताउनुभएको छ । मानन्धरको यही चैत १६ गते ९१ वर्षको उमेरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र रावलको ७७ वर्षको उमेरमा आज अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो । 

जहानियाँ राणा शासन विरुद्धको सङ्घर्षमा सक्रिय रहनुभएका मानन्धरले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै पार्टीमा सङ्गठित रहेर पु¥याउनुभएको योगदानको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ ।

“विसं २०४६ को संयुक्त जनआन्दोलन सफल पार्न नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को अध्यक्षका रुपमा संयुक्त वाममोर्चा गठनमा उहाँले निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ”, उहाँको शोक वक्तव्यमा भनिएको छ, “मानन्धरको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनले निष्ठावान्, सादगी र इमान्दार नेतालाई गुमाएको छ ।

नेपालको वाम लोकतान्त्रिक र प्रगतिशील आन्दोलनमा उहाँको योगदान चीरकालसम्म स्मरणीय रहने छ ।” नेपाली कम्युनिष्ट आन्दोलनका प्रथम पुस्ताका अथक नेताको रुपमा मानन्धरलाई चिनिने गरिन्छ । 

यसैबीच प्रधानमन्त्री ओलीले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधनले एमालेले निष्ठावान्, सादगी र इमान्दार नेता र  कैलालीका जनताले विकासप्रेमी जनप्रतिनिधिलाई गुमाएका परेको बताउनुभएको छ । शोक वक्तत्व जारी गर्दै उहाँले निधनप्रति दुःख व्यक्त गर्दै रावलको निधनले मर्माहत परिवार, आफन्तजन र कैलालीका पार्टी कार्यकर्ताप्रति गहिरो समवेदना  व्यक्त गर्नुभएको छ । “

एमाले नेता, सामाजिक परिवर्तनका अभियन्ता तथा लोकप्रिय जनप्रतिनिधिको रावलले पु¥याउनु भएको योगदान कैलालीका जनताको मानस्पटलमा स्मरणीय छ”, प्रधानमन्त्रीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ । 

रावल २०४९ र २०५४ सालमा कैलालीको सुगरखाल गाविस अध्यक्ष र २०७४ सालमा मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०५६ सालको संसदीय निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट मालेका तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।