जर्मनीले आंशिक लकडाउनलाई अप्रिलभर कडा बनाउने सङ्केत

एजेन्सी

आइतबार, ०८ चैत्र २०७७, २१ : ०१
जर्मनीले आंशिक लकडाउनलाई अप्रिलभर कडा बनाउने सङ्केत

काठमाडौँ । यूरोपमा कोभिडका फरक तथा जटिल खालका विरामीहरू भेटिने क्रम बढिरहेको भन्दै जर्मनीले पनि आगामी महिनासम्म नियन्त्रणका उपायलाई थप कडा पार्ने सुझाव अधिकारीहरूले दिएका छन् । 

विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखहरूको सुझाबको आधारमा जर्मन चान्सलर एञ्जेला मर्केलले आंशिक लकडाउनलाई केही कडा पार्दै आगामी दुई महिना नियन्त्रणका उपायहरूलाई लागु गर्ने अनुमान अधिकारीहरूले गरेका हुन् ।

जर्मनीले गत फेब्रुअरीमा लामो समयदेखि बन्द विद्यालयलाई खुलाउने घोषणा गर्दै क्रमशः अन्य क्षेत्रलाई पनि क्रमशः सामान्य अवस्थामा फर्किने व्यवस्था गरेको थियो । जर्मनीमा तेस्रो लहरको सङ्क्रमण फैलिएपछि उद्योग तथा व्यवसायलाई बन्द गर्ने तयारी गरिरहेको अधिकारीहरूले शनिबार र आइतबार गरेका छलफलका क्रममा बुझिएको हो ।

यद्यपि मर्केलले यस बिषयमा अन्तिम निर्णय लिनुपूर्व सोमबार क्षेत्रीय सरकार प्रमुखहरूसँग भेट गर्ने बताउनुभएको छ । आइतबार सार्वजनिक तथ्याङकमा विगत सात दिनमा जर्मनीमा प्रति एक लाख जनसङ्ख्यामा १०३ व्यक्ति सङ्क्रमित दर भेटिएको बताइएको छ । 

यसैबीच यूरोपका अन्य दुई मुलुक फ्रान्स र पोल्याण्डमा पनि फेरि आंशिक रुपमा लकडाउन लागु भएको छ । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि आंशिक लकडाउन लागु गरिएको हो ।

राजधानी पेरिससहित फ्रान्सका १६ स्थानमा महामारीको तेस्रो लहरको जोखिम बढ्दै गएपछि आंशिक लकडाउन लागु भएको हो । यसबाट दुई करोड १० लाख मानिस प्रभावित भएका छन् । पोल्याण्डमा पसल, होटल तथा खेलकुद र साँस्कृतिक गतिविधि सञ्चालन हुने केन्द्रहरु प्रभावित भएका छन् । तीन हप्तासम्म पोल्याण्डभर लकडाउन लागु हुनेछ ।