– शान्ति शर्मा
आँखा मान्दैन सत्य,
मुटुले रोजेको रङसँग,
आगोको रङ मिले पनि,
खरानी हुनुअघि जीवनको
आस्था सम्झेर आँखाभरि
म लेखिरहन्छु ढुक्ढुकीले
हरपल यो दुनियाँको कविता,
फूलको अनुहार पढ्दै
मुस्कुराएको बेला
हृदयको सेतो हिमाल मभित्र
कविता भएर उभिन्छ,
हिमालको चिसो बिर्सेर
लहरलहरमा जिन्दगीका
प्रहरप्रहरमा असहजता छन्
तथापि
हरेक दिन लेखिन्छ
हो,
आगो र फूलसँग
मुस्कान र भुलसँग
कहिले आँसुले लेखिन्छ
कहिले मुस्कानले लेखिन्छ
मनका पानापानामा
मैले भरेकी छु कविता
छातीको क्यानभासमा
आँखाको विशाल आकाश छानेर,
केही पाएपनि लेखिन्छ
गुमाएपनि लेखिन्छ
सत्य पनि लेखिन्छ
झुठो पनि लेखिन्छ
हरेक पल लेखिन्छ
हरेक दिन लेखिन्छ
केही भनिन्न, केही सुनिन्न
तैपनि
चराहरू छरिएजस्तै आकाशमा
यसरी छरियो जिन्दगी
तिनका उडानअघि र पछि
न आकाश भरिएको छ,
न आकाश छेलिएको छ,
बस्,
पैतालाका डोबहरूमा छोपिएका
यात्राका अमर वृत्तान्त छन्,
मुटुको तहमा खोपिएका
कविताका हजारौं अभिलेखहरू छन्
फर्किएर हेर्छु तर,
एक्लै हिँडेको छ छाया मजस्तै,
मनभरि लेखिएका भावहरू खोज्छु
भाँचिएको पनि छैन, बचेको पनि छैन
अझै पनि
खै किन होला,
जिन्दगीको डायरीका पानाहरू
खाली नै छन् ।
(तीनकुने, काठमाडौ)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक
एकसाथ कविता र कथाका दुई पुस्तकस् ‘ओ पेङ्दोर्जे’ र ‘मुसुक्क म’