ढुक्क हुनुस्, पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शनिबार, ०७ चैत्र २०७७, १३ : ०९
ढुक्क हुनुस्, पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

file Photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले नेतृत्व सरकार समूह कारबाहीको भागीदार रहेको भन्दै उनीहरुलाई कारबाही हुने पनि बताए ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकलाई करिब १ घण्टा सम्बोधन गर्दै ओलीले उनीहरुले निरन्तर गरिरहेको गतिविधि कारबाहीका लागि पर्याप्त भएको जिकिर गरे । 

बैठकका सहभागी एक सांसदका अनुसार ओलीले खनाल–नेपाल समूहको चाहना एमालेमा बस्ने नभएको बरु पार्टी कब्जा गरेर प्रचण्डलाई बुझाउने भएको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही अघि बुटवलमा आयोजित एक कार्यक्रम सार्वजनिक रुपमै माधव नेपाल समूहको योजनाबारे खुलासा गरिसकेको उनको भनाइ थियो ।

उनले खनाल–नेपाल समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाको पनि चर्को आलोचना गरे । ‘भेलाका अगुवाकर्ताहरुलाई कारबाही गरेर जानुको विकल्प छैन । त्यसका लागि विधि र पद्धति बनाइन्छ’, ओलीले भने, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं । ढुक्क हुनुस्, पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ । आफ्नै गतिविधिले उहाँहरु कारबाहीका भागिदार हुनुहुन्छ ।’ 

ओलीले बैठकमा सहभागी वामदेव गौतमलाई पार्टी एक ढिक्का बनाएर अघि बढाउन भूमिका खेल्न आग्रह गरेका छन् । गौतमले नेकपादेखि एमालेसम्म पार्टी एकताकै लागि भूमिका खेलेको स्मरण गर्दै ओलीले यहाँसम्म आइपुग्दा सबैले एकता कसले नचाहेको हो भन्ने स्पष्ट भएको बताए ।

यो कुरा वामदेव गौतमले राम्ररी बुझेको जिकिर गर्दै ओलीले भने, ‘नेकपा देखि एमालेसम्म तपाईं एकता एकता भन्दै हिँड्नु भएको छ।  एकता कसले नचाहेको छ बुझ्नु भयो होला नि ! अब पनि यसै भन्नु हुन्छ कि छाड्नु हुन्छ ? अब एकता एकता भनेर पछि नलागे हुन्छ उहाँहरु (खनाल–नेपाल समूह) एमालेमा बस्न चाहनु नै भएको छैन । पार्टी कसरी एक बनाएर अघि बढ्न सकिन्छ त्यसतर्फ लागौं ।’

प्रतिक्रिया दिनुहोस