धरहरा पुनर्निर्माणको योजना अलपत्र: यस्तो थियो टेलिकमको योजना

बुधबार, १३ मंसिर २०७४, ०८ : २४
धरहरा पुनर्निर्माणको योजना अलपत्र: यस्तो थियो टेलिकमको योजना

भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको योजना अलपत्र बनेको छ । नेपाल टेलिकमले हात झिकेपछि धरहरा पुनर्निर्माण अलपत्र बन्न पुगेको हो ।

टेलिकमले हात झिेलगत्तै सरकारले करिब दुई महिनाअघि धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो ।

तर, प्राधिकरणको प्राथमिकतामा धरहरा अझै पर्न सकेको छैन । धरहरा पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले धरहरा पुनर्निर्माण प्रक्रिया खासै अघि नबढेको बताए । उनले भने, ‘धरहरा पुनर्निर्माणबाट टेलिकम पछि हट्यो । त्यसपछि सरकारले यसको पुनर्निर्माण गर्ने जिम्मा प्राधिकरणलाई दियो । त्यसपछि यस सम्बन्धमा केही छलफल भने भएका छन् । तर, ठोस निस्कर्ष निस्कने गरी छलफल भएको छैन । अब हुने बैठकमा यसले प्राथमिकता पाउला ।’

पुरातत्व विभागसँग सहमति नजुटेपछि धरहरा पुनर्निर्माणबाट टेलिकम पछि हटेको थियो । विभागले बनाएको डिपिआर टेलिकमले परिमार्जन गर्न खोजेपछि दुईबीच सहमति जुट्न सकेको थिएन ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

पुनर्निर्माणमा रकम अभाव छैन
प्राधिकरणका अनुसार धरहरा पुनर्निर्माणका लागि पर्याप्त बजेट मौज्दात छ । तर, कम प्राथमिकताका कारण धरहरा पुनर्निर्माणले गति समात्न नसकेको हो ।

प्राधिकरणका अनुसार ‘मेरो धरहरा मै बनाउँछु’ अभियान अन्तगत नौ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

त्यस्तै पुनर्निर्माणबाट पछि हटेपछि टेलिकमले एक अर्ब रुपैयाँ धरहरा पुनर्निर्माणका लागि दिने घोषणा गरिसकेको छ ।

यसबाहेक आवश्यक परे प्राधिकरणकै बजेट धरहरा पुनर्निर्माणमा खर्च गर्न सकिने प्रवक्ता भुसालको दाबी छ । तर, पनि धरहरा पुनर्निर्माण अघि बढ्न सकेको छैन ।

यस्तो थियो टेलिकमको योजना
टेलिकमले सात अर्ब ९१ करोड रुपैयाँमा धरहरा निर्माण गर्न चाहिरहेको थियो । उक्त लगानीमा टेलिकम धरहरालाई स्वरूप नबिग्रने गरी अत्याधुनिक ‘ल्यान्ड मार्क’का रूपमा विकास गर्न चाहन्थ्यो ।

यस अन्तर्गत धरहराभित्र ‘सुपर लिफ्ट’ राखिन खोजिएको थियो । धरहारा माथि २६ जना अट्न सक्ने गरी ‘भ्यू टावर’ निर्माण गर्ने तयारी थियो ।

धरहरा अगाडि ‘म्युजिकल फाउन्टेन’ बनाउने भनिएको थियो । सुन्धरामाथि स्वरूप नबिग्रने गरी कृत्रिम आकाश निर्माण गर्न खोजिएको थियो ।

साबिकको टक्सार भवन र नेपाल बैंकको कार्यालय भत्काएर परम्परागत शैलीको चारतले भवन बनाउन खोजिएको थियो । जसको डिजाइन भर्याङशैलीमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस