कतिसम्म अपराधी बन्छ मान्छे ! जहाँ जिउँदै मान्छेलाई खाल्डो खनेर पुरियो

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १६ : २८
कतिसम्म अपराधी बन्छ मान्छे ! जहाँ जिउँदै मान्छेलाई खाल्डो खनेर पुरियो

धादिङ । कतिसम्म अपराधी या कपुत बन्न सक्छन् मानिस ? धादिङमा घटेको एक घटनालाई हेर्ने हो भने मानिस यहाँसम्मको अपराधी बन्न सक्छन् भन्दा जोकोहीलाई पत्याउन मुस्किल हुन्छ । जो घाइते भएर छट्पटाइरहेकी छ, उसैलाई उपचार गर्न अस्पताल लानुको साटो जिउँदै खाल्डामा हालेर पुर्न सक्ने एक अपराधीको कुकृत्यमाथि अनुसन्धान गर्दा प्रहरीसमेत चकित बन्यो । 

घटना फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा घटेको हो । घटनाका दोषी जेसिबी चालक हुन् । जसले एउटी जिउँदो महिलालाई खाल्डो खनेर पुरेको छ । त्यसमा पनि घाइते महिलालाई । मानवीयताको थोपामात्र हुने हो भने पनि घाइते महिलालाई उपचार गर्न लाग्नुपर्ने हो, तर यहाँ एउटा अपराधी क्रुर्र भएर निस्कन्छ । ती घाइते महिलालाई जिउँदै खाल्डो खनेर पुर्छ । 

फागुन २७ गते दिउँसोको २ बजेको थियो । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खोल्सी भन्ने स्थानमा भित्री सडक बन्नेक्रम जारी थियो । सडक निर्माणकै लागि प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबी चलाइरहेका थिए भीमबहादुर बुढाथोकीले । सडक निर्माणको बाटो भएर कतै जाँदै थिइन् स्थानीय महिला ४० वर्षीय सरस्वती कुमाल । जेसिबी हुत्तिएर आयो अचानक महिलालाई ठक्कर दियो । सरस्वती उठ्न खोजिन्, उठ्न सकिनन् । अस्पताल लैजान गुहारिन् । छटपटाउन थालिन् । घटनास्थलमा कोही मानिस थिएनन्,  ठक्कर दिएको पनि कसैले देखेनन् । 

डोजरको बकेटले लागेर घाइते भएकी ती महिलालाई खाल्डो खनेर जिउँदै पुर्न थाले जेसिबी चालकले । सल्यान छत्रेश्‍वरी गाउँपालिका वडा नम्बर ६ रानागाउँका २२ वर्षीय जीवन भन्ने भीमबहादुर बुढाथोकीले सरस्वतीलाई खाल्डो खनेर पुरिरहँदा स्थानीयले देख्न भ्याए । स्थानीयले देखेपछि कराउन थाले । जेसिबी चालक त्यहीबाट फरार भयो । महिलालाई खाल्डोबाट स्थानीयले तत्कालै निकाले ।  उद्धारकै क्रममा महिलाको प्राणपखेरु उड्यो । स्थानीयको हुलले तत्कालै जेसिबीमाथि आगजनी गरेका थिए । 

यसरी समातिए भीमबहादुर 

हत्यापछि धादिङबाट फरार भएका चालक भीमबहादुरलाई सिआईबीले झण्डै ३ सातापछि भारतको हरिद्वारबाट पक्राउ गरेको छ । घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।  सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको छ । 

भीमबहादुर धादिङबाट भागेर सुरुमा दाङ पुगेका रहेछन् । उनी त्यहाँ आफन्तसँग केही रकम मागेर नेपालगञ्ज हुँदै भारत पुगेका थिए ।  काम विशेषले भारत आएका बताएका बुढाथोकी नेपालमा हत्या गरेर भागेको थाहा पाएपछि आफन्तले प्रहरीकोमा आत्मसमर्पण गर्न पनि सुझाए । तर भीम भने आत्मसमर्पण नगरी त्यहाँबाट पनि भागेर भारतको हरिद्वार पुगे । 

हरिद्वारमै बस्ने क्रममा उनी ४ दिनअघि मात्रै नेपालगञ्ज आएका थिए । उनको बारेमा प्रहरीले थाहा पाएपछि पिछा गरेको थियो ।  मोबाइल लोकेशन र कल डिटेलका आधारमा प्रहरीले पक्राउ गर्न जाँदा उनले होटल छोडिसकेका थिए । त्यसपछि उनलाई पछ्याएको सिआइबीको टोलीले बिहीबार हरिद्वारबाट पक्राउ गरेको हो ।  डोजर चालक बुढाथोकीको लाइसेन्ससमेत छैन। लाइसेन्स नभएको व्यक्तिले चलाएको डोजरबाट सरस्वतीको मृत्यु भएको कारण उनलाई कर्तव्य ज्यानमै मुद्दा चल्न प्रहरीको भनाइ छ । सवारी चलाउन दिने डोजर मालिकलाई पनि मुद्दा चल्ने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस