काठमाडौँ । गृह मन्त्रालयले धादिङमा भएको बस दुर्घटनाको घटनाबारे औपचारिक छानबिन अघि बढाउने निर्णय गरेको छ। ठुलो जनधनको क्षति भएको घटनापछि मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले तथ्यगत यथार्थ पहिचान गर्न समिति गठन गर्ने निष्कर्ष निकालेको हो।
बैठकमा गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि, तीनवटै सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको जनाइएको छ।
छलफलमा दुर्घटनाका कारण, पूर्वतयारी अवस्था, सडक सुरक्षा मापदण्ड तथा नियामक निकायको भूमिकासहित समग्र पक्षको अध्ययन आवश्यक ठहर गरिएको हो।
प्रारम्भिक विवरणअनुसार, पोखराबाट काठमाडौँतर्फ गइरहेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजे धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका-५ भैंसेगौडा क्षेत्रबाट सडक किनार झर्दै त्रिशूली नदीको किनारमा पुगेको थियो।
दुर्घटनामा १८ जनाको ज्यान गएको पुष्टि भएको छ। घटनास्थलमै १७ जनाको मृत्यु भएको र एक जनाको उपचारका क्रममा निधन भएको जानकारी प्राप्त भएको छ।
घाइतेहरूलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ। प्रहरीका अनुसार नेशनल अस्पतालमा एक महिलासहित १० जना भर्ना भएका छन्। त्यसैगरी ट्रमा सेन्टरमा १५ जनालाई ल्याइएकोमा एक युवकको उपचारका क्रममा मृत्यु भएको तथा अन्य १४ जनाको उपचार भइरहेको छ।
सरकारले घटनाको निष्पक्ष र तथ्यपरक छानबिनमार्फत उत्तरदायित्व निर्धारण तथा आगामी दिनमा यस्ता दुर्घटना न्यूनिकरणका उपाय पहिचान गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ फागुन २०८२, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान