भरतपुर महानगरमा कर अभियानको घोषणा, आम्दानी बढाउन अभियान शुभारम्भ गरिएको महानगर प्रमुख दाहालको भनाइ

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, १६ : ५२
भरतपुर महानगरमा कर अभियानको घोषणा, आम्दानी बढाउन अभियान शुभारम्भ गरिएको महानगर प्रमुख दाहालको भनाइ

चितवन । भरतपुर महानगरपालिकाले कर अभियानको शुभारम्भ गरेको छ । भरतपुर वडा नम्बर १० बाट लक्ष्य अनुसारको राजस्व संकलन गर्नका लागि बिहीबार कर अभियानको शुभारम्भ गरेको हो ।

अभियानको शुभारम्भ अगाडि ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने उद्देश्यका साथ महानगरपालिकामा कर अभियानको घोषणा गरिएको थियो । महानगरले १० वटा वडा छनौट गरी अभियानलाई अगाडि बढाएको छ । कर अभियान घोषणाका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध भरतपुर महानगरपालिका निर्माणका लागि कर अभियान घोषणा गरिएको बताईन् । भरतपुर महानगरपालिका भित्रका विकासको काम चित्त बुझ्दो भइरहेको भन्दै उनले महानगरको आन्तरिक आम्दानी वृद्धिका लागि कर अभियान घोषणा गरिएको जानकारी दिईन् ।

स्थानीय सरकार आएको पहिलो पाँच वर्षमा महानगरपालिकाले आन्तरिक आम्दानी बढाएर वार्षिक एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने लक्ष्य रहेको दाहालले बताईन् । यो लक्ष्य पूरा गर्नुपर्ने महानगरलाई चुनौती रहेको भन्दै उनले कर अभियानमा सबैलाई सहभागी हुन आग्रह गरिन् । महानगरपालिकाले शुरुमा कर वृद्धि गर्दा सबै क्षेत्रबाट विरोध भएको उल्लेख गर्दै दाहालले सबै क्षेत्रसँगको सहकार्यमा करको दायरा समेत वृद्धि गरिएको उल्लेख गरिन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख एवं राजस्व परामर्श समिति संयोजक पार्वती शाह ठकुरीले महानगरपालिकाले करमैत्री नीति तथा कार्यक्रम ल्याएको बताइन् । पछिल्लो समय महानगरपालिकाले करको दर र दायरा सबैको सहमतिअनुसार नै बढाएको भन्दै नगरवासीको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् । स्थानीय सरकार आउनु अगाडि भरतपुरमा सीमित मात्रामा कर उठिरहेको अवस्थामा महानगर भएपछि करको दर तथा दायरा बढाइएको उनले बताइन् ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा महानगरको आन्तरिक आम्दानी ९२ करोड रुपैयाँ भएको उल्लेख गर्दै उनले  यस आर्थिक वर्ष २०७७/७८ मा ९० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको बताइन् । कोभिड–१९ का कारण राजस्व संकलनको लक्ष्य थोरै राखिएको उपप्रमुख ठकुरीले बताईन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेलले राजस्वको दायरा फराकिलो बनाउने, राजस्वको क्षेत्र पहिचान गर्दै राजस्व संकलन गर्नका लागि कर अभियान घोषणा गरिएको बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघलगायतका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस