काठमाडौं । किसानको खेतमा सिँचाइ सुविधा पुराउँनका लागि स्थापना भएको २७ वर्षपछि वाग्मती सिँचाइ आयोजनाको कामलाई बृहत् आयोजनाका रुपमा विकसित गर्ने प्रक्रिया शुरु भएको छ ।
साथै, रौतहट र सर्लाहीमा खेती सिँचाइको कार्य गर्दै आएको सो आयोजनाले धनुषा र महोत्तरी जिल्लामा समेत थप सिँचाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
वाग्मती सिँचाइ आयोजना विस्तारको ढाँचामा गएको उल्लेख गर्दै आयोजना प्रमुख मित्र बरालले भने , “धनुषा र महोत्तरी जिल्लामा सिँचाइको पूर्वाधार निर्माण गर्नका लागि डिपिआर तयारीको चरणमा रहेको छ ।” साथै सिन्धुलीेको फुर्कोटमा सुनकोशी नदीमा १३।१ किमी बाँध बनाएर टनेलमार्फत मरिन नदी हुदैवाग्मती नदीमा पानी थप्ने गरी काम भइरहेको छ ।
सो काम पूरा गर्नका लागि दुई वर्ष लाग्ने आयोजनाका वरिष्ठ इन्जिनीयर कलामुद्दिन अंसारीले जानकारी दिए । त्यसको हालै प्रधानमत्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
विसं २०५० मा अर्थात् २७ वर्षअगाडि रौतहट र सर्लाही जिल्लामा किसानको खेत सिञ्चित गर्न र अन्नबालीको उत्पादकत्व बढाउनका लागि निर्माण गरिएको सो आयोजना सरकारको लक्ष्यअनुसार सञ्चालनमा रहेको छैन ।
सो आयोजना वर्षैपिच्छे टालटुल र मर्मतसम्भारमा केन्द्रित रहेको बताइएको छ । वाग्मती नदीमा पानी बहावमा कमी आएपछि आयोजनाको नहरमा पानी सञ्चालन पनि घट्दै गएको किसानको गुनासो रहेको छ ।
नेपाल सरकारको सो दुवै जिल्लामा एक लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहे पनि ४५ हजार ६०० हेक्टर जमीनमा मात्र सिँचाइ भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको निर्माणदेखि हालसम्म ३७ प्रतिशतमात्र सिँचाइ सुविधा पुग्दै आएको छ ।
२०४५ सालदेखि निर्माण शुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको सो आयोजना कार्यान्वयनमा आए पनि वाग्मती नदीमा पानीको कमी र बाढीले नहरका संरचनाहरु क्षतिग्रस्त भएकाले सिँचाइमा समस्या आएको जानकारी दिँदै प्रमुख बरालले विगतको तुलनामा सिँचाइको काम भइरहेको छ बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०४ चैत्र २०७७, १२ : ५६
लेखकबाट थप