प्रतिनिधिसभाको बैठक बस्दै, सरकारले विजनेस नदिँदा बैठक औपचारिकतामा सीमित

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, ११ : ०५
प्रतिनिधिसभाको बैठक बस्दै, सरकारले विजनेस नदिँदा बैठक औपचारिकतामा सीमित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक बस्न लागेको हो। प्रतिनिधिसभा पुनर्स्थापनापछि तेस्रो पटक बैठक बस्न लागेको हो। यसअघि गत फागुन २३ र २६ गते प्रतिनिधिसभा बैठक बसेको थियो।

आज सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र संविधानसभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।

यसअघि सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। अधिवेशन सुरु भएको पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्ने भए पनि प्रतिनिधिसभाको तेस्रो बैठकमा समेत सातवटा अध्यादेश पेश नहुने भएको छ।

संसद नचलेका बेला सरकारले जारी गरेका आठवटा अध्यादेश प्रतिनिधिसभाको २३ गते बसेको पहिलो बैठकमै पेश हुनुपर्ने भए पनि मंगलबार बस्ने बैठकमा समेत पेश गर्न दलहरु तयार नभएका हुन्।