एमाले विभाजनको मुखमा, समानान्तर गतिविधि तीव्र

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, ०८ : ५६
एमाले विभाजनको मुखमा, समानान्तर गतिविधि तीव्र

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण विभाजनतर्फ उन्मुख भएको छ । ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरु सहभागी बैठकबाट वरिष्ठ नेता माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोसेर आफू निकटकालाई जिम्मेवारी तोक्ने, माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटिमा मनोनित गर्ने जस्ता निर्णय गरेपछि एमाले विभाजन उन्मुख भएको हो ।

ओलीको कार्यशैलीपछि वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले समानान्तर कमिटि बनाउने र अन्तरपार्टी संर्घष चर्काउने निर्णय गरेपछि एमालेमा समानान्तर गतिविधि तीव्र हुने देखिएको छ । अहिले नै एमालेमा प्रदेश जिम्मेवारी र केही विभागीय जिम्मेवारीमा नै समानान्तर संरचना निर्माण भएको छ । ओलीले नेपाल पक्षका नेतालाई जिम्मेवारी खोसेर एकलौटी आफना मान्छेलाई जिम्मेवारी सुम्पेपछि समानान्तर संरचना निर्माण भएको हो ।

ओलीले प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा रामबहादुर थापा (बादल), गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोरखेल, कर्णालीमा यमलाल कँडेल र सुदुरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकेका छन् । ओलीले यो खालको संरचना र जिम्मेवारी तय गरेपछि माधव नेपाल पक्षले पनि शनिवार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकबाट प्रदेश १ मा भीम आचार्य, २ मा घनश्याम भुषाल, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्विनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावललाई जिम्मेवारी तय गरेको छ । तत्कालीन एमालेमा प्रदेश १ मा भीम आचार्य र सुदुरपश्चिममा भीम रावल इन्चार्ज थिए । तर त्यो जिम्मेवारी खोसेर ओली पक्षले आफना मान्छेलाई जिम्मेवारी दिएका हुन् ।

निर्वाचित कार्यसमितिका पदाधिकारी पनि ओली पक्षले विघटन गर्ने निर्णय लिइसकेको छ । अध्यक्ष र महासचिव कायम राखेर सबै पदाधिकारीको जिम्मेवारी खोस्ने योजना पनि ओलीले बनाएका छन् । यद्यपी त्यो घोषणा भने गरिसकेको छैन । चैत ७ गते बोलाएको केन्द्रीय समितिको बैठकबाट त्यो घोषणा गर्ने तयारी ओली पक्षले गरेको छ । आगामी मंसिर २ देखि ६ गतेसम्म पार्टीम महाधिवशेन गर्ने गरी आयोजक समिति बनाउने तयारीमा ओली पक्ष छ । तर ओलीले गरेको यो खालको तयारीका विरुद्ध समानान्तर संरचना निर्माण गर्ने र थप रणनीति बनाउन वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

चैत ४ र ५ गते काठमाडौंमा राष्टिय कार्यक्र्ता भेला आयोजना गर्ने र त्यसबाट थप निर्णय लिइने माधव नेपाल पक्षले रणनीति बनाएको छ ।भेलामा केन्द्रीय कमिटि, केन्द्रीय आयोग, परिषद्, सल्लाहकार समिति, जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारी, संघीय सांसदहरु, प्रदेश कमिटिका सदस्यहरु, प्रदेश सांसदहरु, जिल्ला कमिटिका पदाधिकारी र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई निम्ता गरिएको उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

यो भेलावाट  देशभर समानान्तर कमिटि घोषणा गरेर जाने तयारीमा माधव नेपाल पक्ष छ । यो पक्षले ओलीले बालुवाटारमा बोलाएको बैठकमा नजाने निर्णय पनि लिएको छ । बालुवाटारभन्दा वाहिर बैठक बोलाउनु पर्नेमा बालुवाटारमा बैठक बोलाएकोले नजाने निश्र्कष निकालेको हो । यद्यपी, यसको निर्णय भने भेलापछि नै तय गरिने बताइएको छ । ओलीको पेलाहा र बलमिच्चाह प्रवृतिले एमाले विभाजनतर्फ उन्मुख भएको छ ।