प्रचण्डले यसरी गर्नुपर्छ माओवादी आन्दोलनको पुर्नगठनसँगै एकताबद्ध

विश्लेषक भन्छन् : ‘राजधानी होइन, गाँउतिर माओवादी फर्किनुपर्छ’

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, ११ : २७
प्रचण्डले यसरी गर्नुपर्छ माओवादी आन्दोलनको पुर्नगठनसँगै एकताबद्ध

काठमाडौं । सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादमा एकता भईसकेको पार्टी पनि पुरानै अस्तित्वमा ब्युँत्याईदिएपछि अहिले दुवै दल आ–आफ्नो रस्साकस्सीमा व्यस्त छन् । माओवादी केन्द्र ब्ँयूतिएपछि अब माओवादी आन्दोलनलाई नयाँ शिराबाट अगाडि उठाउन अब प्रचण्डले केही बोल्ड निर्णय लिनुपर्ने आवश्यकता पनि औंल्याउन थालिएको छ । सही विचार, सही नेतृत्व र निर्णय क्षमता भएरपनि अनेकन जालझेल र तिकडमको गुहराहमा फसेको प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले अब खुला ह्दयका साथ, फराकिलो छाती बनाएर विभिन्न रुप र टुक्रामा रहेको माओवादी आन्दोलनलाई एकीकृत बनाएर लैजानका तत्काल पहल गर्नुपर्ने माग कार्यकर्ता तहबाट उठेको छ ।

प्रचण्डले अब आफना राजनीतिक गुरु मोहन वैद्यदेखि केही दिन पहिले मात्रै राजनीतिक मूलधारमा आएका नेत्रविक्रम चन्द समेत अटाउने योजना र कार्यक्रम तय गर्नुपर्ने छ । विगतमा मोहन वैद्यले जसरी युवालाई नेतृत्व दिएर पार्टीलाई अगाडि बढाए, त्यसैगरी अब प्रचण्डले पनि अब युवालाई साथमा लिएर, उनीहरुको नेतृत्वको विकास गराउँदै माओवादी आन्दोलनलाई सबैभन्दा पहिले पुर्नगठन गर्नुपर्ने तड्कारो आवश्यकता महसुस भएको छ ।  विगतमा भएका सबै प्रकारका गल्ती तथा कमजोरीलाई सच्याउदै युवा नेतालाई नेतृत्व हस्तान्तरण गरेर अगाडि बढ्ने साहस गर्नुपर्छ ।

यस्तै, प्रत्येक नेता, कार्यकर्तालाई आफनो वर्ग तथा धरातललाई सम्झाउदैं एकपटक इमान्दार भएर एकीकृत हुनका लागि आह्वान गर्नु जरुरी छ । जनयुद्धकालका शहिद परिवार, बेपत्ता, घाइते योद्धा, आफना तल्ला तहका कार्यकर्ता एवम् जनआधारलाई विश्वासमा लिएर माफी माग्दै एकीकृत हुन आग्रह गर्नुपर्नेछ । मोहन वैद्य, सिपी गजुरेल, गोपाल किराँती, विश्वभक्त दुलाल, सिपी मैनालीसम्मलाई समेटने प्रयास थाल्नुपर्नेछ । प्रचण्डले खुला ह्दयका साथ विप्लवलाई बोलाएर मिलेर जाने प्रस्ताव गर्नु जरुरी छ । अबको नेतृत्व युवाले नै गर्ने हो भन्दै अब उनले राजनीतिक रुपमा त्याग गर्ने साहस गर्ने हो र विगतको गल्ती कमजोरी सच्याएर जाने प्रतिवद्धता मात्रै जनाउने हो भने एकपटक नेपाली जनताले पुनः माओवादी आन्दोलनलाई साथ र सहयोग दिने कुरामा दुईमत रहँदैन । 

किनकी, नेतृत्वले चाहदा चाहदै पनि जनताको पक्षमा काम गर्न सकेको धेरैले औंल्याईरहेका छन् ।  नेपाली जनताको चाहना अझै पनि खास अर्थमा क्रान्तिकारीहरु मिल्नु र देशको नेतृत्व लिऊन् भन्ने नै छ ।  शहिद परिवार, बेपत्ता योद्धाका परिवार एवम् घाइते अपांगता भएका परिवारलाई विश्वासमा मात्रै लिन सकेको खण्डमा एकपटक नयाँखालको जनउभार पैदा हुनेछ । केपी ओलीको प्रतिगामी कदमका विरुद्ध जुटन पनि अब प्रचण्डहरु जिल्ला जिल्ला, गाँउ टोल टोलमा गएरु आफना कुरा भन्न लाग्नुपर्छ । 

सिंहदरबारमा हुने सत्ताका खेलमा नलागेर जनतामा जाने साहस गरे पुनः माओवादी आन्दोलन नयाँ रुपमा विकसित हुनसक्नेछ । प्रचण्डहरुले अब काठमाडौं छाड्ने हिम्मत गर्नुपर्नेछ । शहरले माओवादीलाई कहिल्यै रुचाएन । माओवादीको आधारभूमि पहाड हो, हिमाल हो, तराई हो । काठमाडौंको खाल्डो छाडेर जनतालाई एकतावद्ध बनाउन पहल गरेको खण्डमा विगतमा भएका गल्ती कमजोरीलाई नेपाली जनताले माफी दिनेकुरामा कुनै दुईमत नभएको विश्लेषकहरु बताउँछन् । अब खुला ह्ृदयका साथ सबै खालका माओवादी आन्दोलन र धारालाई एकताबद्ध बनाउने साहस र प्रतिवद्धता प्रचण्डले व्यक्त गर्न सक्नुपर्छ ।

प्रचण्ड नै त्यस्ता व्यक्ति हुन् जसले जस्तासुकै अप्ठ्यारोलाई पनि सहजतामा रुपान्तरण गर्न सक्छन् । राजनीतिक विश्लेषकहरु भन्छन्, प्रचण्डले एकपटक साहस गर्ने हो भने माओवादी आन्दोलन पुनः एकतावद्ध हुनेछ । त्यतिबेला केपी ओलीहरु जस्ता पात्रहरु आफैं पछि पर्दैजान्छन् । र अहिलेको जस्तो भाँडभैलो र एकताको लागि भिख माग्नुपर्ने अवस्था पनि रहदैन् । हरेक जिल्ला जिल्लामा माओवादीले जितेका स्थानीय तहमा जनताले अनूभूत गर्ने गरी काम गर्न सकिन्छ ।

त्यसको तत्काल प्रयास थालनी गर्नु आवश्यक छ । माओवादीका हरेक नेता तथा कार्यकर्ता जनताको घरदैलोमा गएर जब जनताका कुरा सुन्न थाल्छन्, तब मात्रै आन्दोलन बौरिएर आउनेछ । राजनीतिक विश्लेषकहरु भन्छन्, अब राजधानीमा होइन, गाँउतिर माओवादी फर्किएको हेर्न र देख्न बाँकी छ । त्यसो भएको खण्डमा अबको दुई वर्षभित्र हुने निर्वाचनमा ओलीहरु पतनको टिका लगाउनेछन् र माओवादीले जित्नेछ । 
 

प्रतिक्रिया दिनुहोस