एमालेमा किन बढ्यो ओलीको बलमिचाइँ ?

शनिबार, २९ फागुन २०७७, ०८ : ०५
एमालेमा किन बढ्यो ओलीको बलमिचाइँ ?

काठमाडौँ । संविधान कुल्चिएर प्रतिनिधिसभा भंग गर्ने असफल प्रयास गरेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानलाई बेवास्ता गर्दै एकताबद्ध हुन लागेको आफ्नै पार्टीभित्र बलमिचाइँ थालेका छन् । यसको सुरुवात उनले आफ्ना पक्षीय केन्द्रीय सदस्यहरूको एकलौटी भेला बोलाएर नवौं महाधिवेशनपछि चयन भएका आफूइतरका विभागीय प्रमुखहरूलाई जिम्मेवारीबाट हटाएर गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको केन्द्रीय सदस्यहरूको भेलामा प्रधानमन्त्री ओलीले यसअघि प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएका छन् । यस्तै उनले माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको जानकारी पनि आफूपक्षीय केन्द्रीय कमिटी बैठकमा गराएका छन् ।

ओलीले चैत १ गते हुने भनिएको एमाले केन्द्रीय कमिटी बैठकको तयारीका लागि भन्दै आफूपक्षीय केन्द्रीय सदस्यहरूलाई बालुवाटार बोलाएका थिए । तर उक्त बैठकमा उनले आफ्नै समूहका नेताहरूसँग समेत छलफल नगरी एकलौटी निर्णय सुनाए । प्रवक्ता प्रदीप ज्ञवालीले अर्को पक्षलाई बैठकका लागि औपचारिक रूपमा आह्वान गर्ने निर्णय गरिएको बताए ।

एकताअघि २ सय ५ सदस्यीय केन्द्रीय कमिटीमा ओली पक्षका नेता १ सय २ जना थिए । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा मनोनीतमध्ये ओली पक्षमा २८ सदस्य थिए । १ सय ३० जना केन्द्रीय सदस्य रहेको भनिएको एमालेको पहिलो बैठक बसेर माओवादी केन्द्रबाट आएका नेताहरू रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेपछि बसेको दोस्रो बैठकले जिम्मेवारी हेरफेरको निर्णय गरेको हो । तर एमालेको विधानअनुसार ओलीलाई केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्ने छुट छैन ।

एमालेको नवौं महाधिवेशनमा १ सय ८८ जना केन्द्रीय सदस्य निर्वाचित भएकामा एमालेले पार्टी एकताअघि १७ जना मनोनयन गरेर २ सय ५ सदस्य पुर्‍याइसकेको थियो । एकताका क्रममा ६ जनाको पद रिक्त भएपछि अरू ४२ जना थपेर एमालेतिरका २ सय ४१ सदस्य बनाइएको थियो । ओलीले शुक्रबार पार्टीको विधानविपरीत माओवादीबाट आएका अरू २३ जना नेतालाई थपेर केन्द्रीय कमिटी २ सय ६४ सदस्यीय बनाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।