कर्जा बढ्दै, निक्षेप सङ्कलन सुस्ताउँदै

पत्रपत्रिकाबाट

शनिबार, २९ फागुन २०७७, ०८ : ०१
कर्जा बढ्दै, निक्षेप सङ्कलन सुस्ताउँदै

काठमाडौं । पछिल्लो समय वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह निक्षेप सङ्कलनभन्दा बढी हुन थालेको छ। वाणिज्य बैङ्कहरूले निक्षेप सङ्कलनभन्दा दोब्बर कर्जा लगानी गरेका हुन् ।  नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार गत एक सातामा बैङ्कहरूले १२ अर्ब निक्षेप सङ्कलन गर्दा २६ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन्।

फागुन लागेयता नै वाणिज्य बैङ्कहरूले ७० अर्ब बढी कर्जा लगानी गरिसकेका छन् भने सोही अवधिमा निक्षेप सङ्कलन भने ३५ अर्ब रुपियाँ मात्रै रहेको छ। एसोसिएसनको तथ्याङ्कअनुसार फागुन २१ गतेसम्ममा बैङ्कहरूको निक्षेप सङ्कलन ३८ खर्ब २३ अर्ब रुपियाँ पुगेको छ भने कर्जा लगानी ३३ खर्ब ८८ अर्ब रुपियाँ पुगेको छ। एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ गतेदेखि १४ गतेसम्म २७ वाणिज्य बैङ्कले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका थिए।

मुलुकमा कोरोना कहर विस्तारै सामान्य  अवस्थामा रूपान्तरण हुँदा बैङ्क तथा वित्तीय संस्थाहरूको व्यवसाय बढ्दो क्रममा देखिएको छ। मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को प्रतिकूल प्रभाव कम हुँदै गर्दा अर्थतन्त्रका सकारात्मक सूचक देखापर्न थालेपछि बैङ्कहरूको कर्जा प्रवाह बढ्न थालेको छ। कोरोना महामारीका बेला लगाइएको बन्दाबन्दी हटाइएयता अर्थतन्त्रले सकारात्मक सूचक देखाउन थालेको हो। 

निर्यातमा बढोत्तरी, महँगीमा कमी र विप्रेषणमा वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थालेपछि बैङ्कहरूको व्यवसाय विस्तार पुरानै अवस्थामा आएको हो। कर्जा लगानी बढे पनि सोही अवधिमा निक्षेप सङ्कलनको वृद्धि दर भने कम देखिएको छ।

एक साताको सोही अवधिमा बैङ्किङ प्रणालीमा ११ अर्ब रुपियाँ निक्षेप थपिएको छ। समग्रमा फागुन १४ गतेसम्ममा वाणिज्य बैङ्कहरूले ३८ खर्ब नौ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् भने ३३ खर्ब ६२ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन्। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस