काठमाडौं । पार्टीभित्रको विवादले अर्को रुप नलिएसम्म एमाले नेतृत्वको वर्तमान सरकारलाई टिकाइराख्न जनता समाजवादीको समर्थन भए पुग्छ । तर जनता समाजवादी पार्टीभित्रै केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा मतभेद छ ।
अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओली नेतृत्वको सरकारप्रति नरम देखिए पनि उपेन्द्र यादव र बाबुराम भट्टराई वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा देखिएका छन् । सत्तारुढ एमालेभित्रको माधवकुमार नेपाल, झलनाथ खनालसहितको असन्तुष्ट समूह मात्र होइन, सत्तासाझेदार माओवादी केन्द्र पनि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारले मुलुकको शासन सञ्चालन गर्ने नैतिक आधार गुमाएको भन्दै एक वर्षअघि नै विकल्प खोज्नुपर्ने निर्णय गरेको थियो । तर एमाले र माओवादी केन्द्रबीचको एकीकरणले झन्डै दुई तिहाइ बहुमत नजिक रहेका ओलीविरुद्ध अविश्वास प्रस्ताव राख्ने हैसियत पनि कांग्रेसको थिएन । अहिले दुई दल विभाजनसँगै विकास भएको नयाँ घटनाक्रममा कांग्रेस फेरि एकपटक सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ । तर अहिले नयाँ सत्ता समीकरणको केन्द्रमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि नयाँ प्रधानमन्त्रीका रुपमा चर्चामा छ ।
आफू नेतृत्वको सरकारले निरन्तरता नपाउने अवस्थामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले महन्थलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नसक्ने एमाले वृत्तको विश्लेषण छ । जसपाकै नेतृत्वमा सरकार गठनका लागि एमालेले प्रस्ताव गरेको अवस्थामा पार्टीका अन्य नेतालाई कांग्रेस वा माओवादी नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्न नैतिक संकट पर्नेछ । माओवादी नेतृत्वमा अहिले नयाँ सरकार गठनको सम्भावना निकै कम छ । ओलीको विकल्पमा माओवादी केन्द्रले कांग्रेस वा जसपामध्ये कुनै एकको नेतृत्व स्वीकार गरेर अघि बढ्ने नेताहरूको बुझाइ छ ।
त्यस्तो अवस्थामा प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर मुख्य दाबेदार हुन् । पार्टीको १४औं महाधिवेशन संघारमै आइपुगेकाले देउवा मुलुकको कार्यकारी प्रमुख हुँदा त्यसको असर महाधिवेशनबाट नयाँ नेतृत्व चयनमा पनि पर्ने कांग्रेस नेताहरूको बुझाइ छ । प्रधानमन्त्रीसहित पार्टी सभापतिका लागि देउवा अघि बढ्दा उनलाई रोक्न सहज नहुने संस्थापन इतर पक्षको बुझाइ छ ।
त्यस्तो अवस्थामा देउवालाई प्रधानमन्त्रीमा रोक्न मधेसबाट लामो समयदेखि राजनीति गर्दै आएका पार्टीकै पूर्वनेता ठाकुरलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न कांग्रेसलाई धेरै कठिन नहुने नेताहरूको बुझाइ छ । ‘कांग्रेसकै पहलमा मधेसी मूलको नेतालाई प्रधानमन्त्री बनाउने यो एउटा अवसर पनि हो,’ कांग्रेसका एक नेताले भने, ‘महन्थजी हाम्रो पार्टीको पुरानो नेता र असल मित्र पनि हुनुहुन्छ ।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर