नेकपा माओवादी केन्द्रले गठन गर्यो कार्यदल

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, १४ : ३३
नेकपा माओवादी केन्द्रले गठन गर्यो कार्यदल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले संगठन निर्माणको योजनालाई ठोस रुप दिन ४ सदस्य कार्यदल गठन गरेको छ ।

 बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले संगठन निर्माणको योजनालाई ठोस रुप दिई प्रतिवेदन पेश गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो । 

कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जर्नादन शर्मा रहनुभएको नेकपा(माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको वार्ताको सम्बन्धमा जानकारी गराउनु भएको प्रवक्ता श्रेष्ठले जानकारी गराए । 

बिहिबार पनि अध्यक्ष प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग थप वार्ता गर्ने जानकारी दिएका थिए भने निर्वाचन आयोगले नेकपा(माओवादी) केन्द्रलाई पठाएको पत्र अध्यक्ष प्रचण्डले बैठकमा पढेर सुनाएका थिए

। प्रवक्ता श्रेष्ठले अन्य पार्टीहरुसँग सहमती गरेर निष्कर्षमा पुग्नका लागि गृहकार्य गरिराखेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता गर्ने निर्णय नगरिएको पनि बताए ।

स्थायी कमिटी बैठकले पार्टीको चैत्र २ गते हुने प्रशिक्षणात्मक भेलामा सहभागी हुने नेता कार्यकर्ताको हकमा मापदण्ड निर्धारण गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस