बंगलादेशबाट २५ सय मेट्रिक टन मल भित्रियो

पत्रपत्रिकाबाट

बुधबार, २६ फागुन २०७७, ०७ : ४६
बंगलादेशबाट २५ सय मेट्रिक टन मल भित्रियो

वीरगन्ज । सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मल मंगलबार नेपाल आइपुगेको छ। सम्झौता भएको ५० हजार मेट्रिक टनमध्ये मंगलबार २ हजार ५ सय मेट्रिक टन वीरगन्ज नाका हुँदै भित्रएको हो। वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा एक रेलवे र्‍याक युरिया मल आइपुगेको वीरगन्जस्थित कृषि सामग्री कम्पनीको प्रदेशस्तरीय कार्यालयका प्रमुख गोरखनाथ केसीले बताए।

एक रेलवे र्‍याकले २ हजार ५ सय मेट्रिक टन मल बोक्ने गर्छ। बंगलादेशले अनुदान र सापटीमा मल नदिने भएपछि गभर्मेन्ट टु गभर्मेन्ट ९जीटुजी० प्रक्रियाबाट सरकारले खरिद गरेको हो। पहिलो लटमा २२ हजार ५ सय मेट्रिक टन मल भारतको कोलकत्ता बन्दरगाह हुँदै नेपाल ल्याउने भनिएको छ। 

पहिलो लटमध्येको २ हजार ५ सय मेट्रिक टन कोलकाता बन्दरगाहबाट भारतीय रेलमार्ग हुदै मंगलबार वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको केसीले बताए। पहिलो लटकै ५ हजार ६ सय २५ मेट्रिक टन भने कोलकाता बन्दरगाहबाट सोझै ट्रकमा विराटनगर लगिनेछ।

बाँकी ९ हजार मेट्रिक टन वीरगन्जको सीमावर्ती सहर रक्सौलस्थित रेलवे स्टेसनमा आउने क्रममै रहेको केसीले बताए। उक्त मल रक्सौलबाट ट्रकमा ढुवानी गरी वीरगन्जस्थित कृषि सामग्री कम्पनीको गोदाममा ल्याइनेछ।  पहिलो लटको २२ हजार ५ सय मेट्रिक टनमध्ये बाँकी रहने ७ हजार ८ सय ७५ मेट्रिक टन मल भने कोलकाताबाट रेलबाटै सिर्सिया सुख्खा बन्दरगाहमै आउने केसीले बताए।

कृषि सामग्री कम्पनीले थप १ लाख २० हजार मेट्रिक टन युरिया मल खरिद गरि चैत महिनाभित्रै नेपाल भित्र्याउने तयारी गरेको छ। कम्पनीले ५० हजार मेट्रिक टन डीएपी मल पनि खरिद गरि नेपाल ल्याइसकेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस