नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्द्धन योजना

रासस

सोमबार, २४ फागुन २०७७, १४ : ११
नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवर्द्धन योजना

काभ्रेपलाञ्चोक । नेपाली सेनाले नेपाल एकीकरणको दौरान निर्मित अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘टे«किङका रुपमा विकसित गर्ने योजना बनाएको छ । 

यसका लागि छवटा पदमार्ग पहिचान गरिएको छ । धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विसं १८०३ देखि १८२० सम्म काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान गरी पदयात्रा कार्यक्रमको आयोजनासमेत गरेको छ । 

गत साल धुलिखेलस्थित तत्कालीन विष्णुदल गणको ‘भ्रमण वर्ष–२०२०’ लक्षित ‘यूनिफिकेशन प्रवद्र्धन योजना तथा पदयात्रा कार्यक्रम कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोकिएको थियो । विष्णुदल गणले एकीकरण पदमार्ग पहिचान संरक्षण, सम्वद्र्धन र सैनिक इतिहास प्रवर्द्धन गर्ने उद्देश्यले छवटा पदमार्ग पहिचान गरेको थियो । 

विष्णुदल गण रसुवा र कालीजङ्ग गण धुलिखेल सरुवा भएपछि कालीजङ्ग गणले उक्त योजनालाई पूर्णता दिन थालेको हो । यही फागुन २० गते एकीकण पदमार्ग पदयात्रा कार्यक्रमको आयोजना गरिएको कालीजङ्ग गणका प्रमुख सेनानी मिलन थापाले जानकारी दिए । 

थापाका अनुसार पहिचान भएका छ पदमार्गमध्ये १८२० कात्तिक १० गते धुलिखेल विजयपश्चात् चौकोट–शारदाकोट–गोरखनाथहुँदै सोही कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गमा पदयात्रा गरिनेछ । उक्त १० किलोमिटर लम्बाइको पदमार्गमा गणले एक दिनको पदयात्रा कार्यक्रम तालिका बनाएको छ । 

काभ्रेपलाञ्चोक एकीकरणका दौरान तत्कालीन अवस्थामा प्रयोग गरिएका पदमार्ग, कोट, धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर र ऐतिहासिक कलासंस्कृति झल्कने स्थानलाई योजनामा समेटिएको गणपति थापाले जानकारी दिए ।   
 

प्रतिक्रिया दिनुहोस