त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

पत्रपत्रिकाबाट

शनिबार, २२ फागुन २०७७, ०८ : ०७
त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो ।

योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी २० चैतभित्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका सिलबन्दी कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सोको विवरण उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई सूचित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षाको सीसी क्यामेराको दृश्यसहित सिलबन्दी गरेको उत्तरपुस्तिका पठाउनुपर्ने प्रावधान ल्याएको हो । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा र उत्तरपुस्तिकामा धाँधली नहोस् भन्दै यस्तो निर्णय गरिएको बताए ।

उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सबै दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सबै फुटेज २० चैतभित्र बुझाउन परीक्षा केन्द्रलाई पत्रमार्फत जानकारी गराएको छ । आगामी दिनमा पनि सीसी क्यामेरा जडान गरेर मात्रै परीक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले निकालेको सूचनामा भनिएको छ, ‘वार्षिक परीक्षा प्रणालीअन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रलाई २० चैतभित्र परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी कम्तीमा डेढ महिनासम्मको रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गर्नुहुन अनुरोध छ ।’ सोको अनुगमन सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई दिई आगामी दिनमा परीक्षा सञ्चालन गर्न त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले निर्णय गरेको हो । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस