पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्छ – वरिष्ठ नेता पौडेल

रासस

शुक्रबार, २१ फागुन २०७७, १८ : ४९
पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्छ – वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्ने बताउनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित सेरावेशीमा निर्मित स्व.सञ्जय खनाल स्मृति प्रतिक्षालय तथा खानेपानी धारा उद्घाटन  कार्यक्रममा उहाँले हिजोका सबै आशक्ति त्यागेर पुनःएक पटक लोकतन्त्रलाई बचाउनुपर्ने बेला आएको बताउनुभयो ।

राष्ट्रिय सङ्कटको यस घडिमा पार्टीभित्रको एकता पनि आवश्यक भएको बताउँदै उहाँले भन्नुभयो, “न्याय, निष्पक्षता, पारदर्शी मूल्याङ्कनका आधारमा एकता कायम हुन्छ, एजेन्डा, मिसनमा एकताका साथै समाजवादको एजेन्डामा एकता हुनुपर्छ । 

कांग्रेसले २००७ सालदेखि अहिलेसम्म निरन्तर जनताको अधिकार, लोकतन्त्र र सार्वभौमिक राष्ट्र बनाउनका लागि संकल्प लिएर बढेको बताउँदै उहाँले यसबीचमा धेरै किसिमका मार खप्दै कांग्रेस क्रियाशील भएको उल्लेख गर्नुभयो । आँफैभित्र पनि बेलाबेलामा कांग्रेस विकृतिको, भ्रष्टाचारको सिकार बनेको उल्लेख गर्दै उहाँले त्यसबाट पार्टीलाई जोगाएर लोकतन्त्रको बाटोबाटै देशलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राजनीतिले जनतालाई सुविधा दिनुपर्ने बताउँदै उहाँले यो घिनलाग्दो खेलका लागि हुन नहुने स्पष्ट पार्नुभयो । पूर्वमन्त्री यज्ञबहादुर थापाले प्रतिक्षालय एवम् खानेपानीको धारा स्थापना गरी स्व सञ्जय खनालका परिवारजनले पीडामा पनि समाजका प्रति योगदान गरेको बताउनुभयो ।

सेरावेशी स्थायी बसोवास भएका स्व.सञ्जयको गत वर्ष कात्तिक ६ गते अन्नपूर्ण आधार शिविर जाने क्रममा हिउँ पहिरोमा परी निधन भएपछि उहाँका परिवारजनले स्मृतिमा प्रतिक्षालय एवम् खानेपानीको धारा जडान गरिदिनुभएको हो । लालध्वज मार्गमा पर्ने उक्त प्रतिक्षालय एवम् धारा निर्माणमा लगभग आठ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । प्रतिक्षालय एवम् धारा आजै सेरावेसी टोल विकास संस्थालाई हस्तान्तरण गरियो । 

प्रतिक्रिया दिनुहोस