काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्रमा जनताभन्दा माथि कोही पनि हुन नसक्ने बताउनुभएको छ ।
उहाँले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गरिरहेको उल्लेख गर्दै वर्तमान सरकारविरुद्ध अँध्यारामा गरिएका कुनै पनि तानावानाले जनताका आकाङ्क्षा कुन्ठित गर्न नसक्ने बताउनुभयो ।
उहाँले वर्तमान सरकारले राज्य विभाजन गर्ने अभियानमा रहेका सिके रावत र विद्रोहका माध्यमबाट राज्यसत्ता परिवर्तन गर्ने उद्देश्य बोकेका विप्लवसमेतलाई वार्ताका माध्यमबाट शान्तिपूर्ण संवैधानिक राजनीतिमा ल्याउने महत्वपूर्ण काम गरेको जनाउनुभयो ।
उहाँले सरकारले कोरोनाविरुद्धको खोप सबै नेपालीलाई उपलब्ध गराउने स्पष्ट पार्नुहँुदै भन्नुभयो, “सबै नेपालीलाई पुग्नेगरी ल्याउँछौँ भन्दा पत्याउँदैन्थे, अर्थमन्त्रीको हैसियतले मैले सबै नेपालीलाई पुग्ने गरी खोपका लागि बजेट व्यवस्था गरेको छु ।”
अर्थमन्त्री पौडेलले तिलोत्तमा नगरपालिकाको वडा नं ६ कुञ्जलापुरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्नुहुँदै रुपन्देही देशमैँ विकासको नमूनाका रुपमा विकासको मानकका रुपमा स्थापित भइरहेको बताउनुभयो । उहाँले रुपन्देहीले भौतिक पूर्वाधर तथा विकास निर्माणका क्षेत्रमा फड्को मारेको बताउँदै विकास हेर्नका लागि अब यहाँ आउनुपर्ने वातावरण निर्माण गरिने बताउनुभयो ।
उहाँले रुपन्देहीको विकासको चर्चा गर्दै देशकै अत्याधुनिक गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटनको नजिक रहेको जानकारी दिनुभयो । मन्त्री पौडेलले सडक पूर्वाधारका हिसाबले रुपन्देहीमा बुटवल–सुनौली, भैरहवा लुम्बिनी सडक निर्माण अन्तिम चरणमा रहेको र बुटवल–नारायणगढ सडकको स्तरोन्नतिको काम तीव्रगतिमा भइरहेको बताउनुभयो ।
उहाँले सरकारले पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाएको बताउँदै बुटवल–कोहलपुर र बुटवल–पोखरा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको कामसमेत अघि बढ्ने जानकारी दिनुभयो । उहाँले रुपन्देही दुई ठूला नदी तिनाउ र दानवको किनारामा निर्माण हुने तिनाउ दानव करिडोर सडकले जिल्लाको मुहार फेर्ने विश्वास व्यक्त गर्नुभयो ।
अर्थमन्त्री पौडेलले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबामा सुरुङ मार्गको छिट्टै नै ठेक्का प्रक्रिया शुरु हुने जानकारी दिनुभयो । उहाँले रुपन्देहीमा स्थापना हुने बौद्ध विश्वविद्यालयका लागि देवदहमा करीब १०० बिघा जग्गा सरकारले छुट्याइसकेको जनाउँदै सो विश्वविद्यालय केही वर्षमै त्रिभुवन विश्वविद्यालयपछिको सबैभन्दा ठूलो बहु विषयक विश्वविद्यालयका रुपमा स्थापित हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० फागुन २०७७, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन: विष्णु पौडेल
विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने