म्यानमारमा सैनिक शासकको विरोधमा उत्रिएका ३८ जना प्रदर्शनकारीको हत्या

एजेन्सी

विहीबार, २० फागुन २०७७, ०८ : ४९
म्यानमारमा सैनिक शासकको विरोधमा उत्रिएका ३८ जना प्रदर्शनकारीको हत्या

एजेन्सी । म्यानमारमा कु गरेर  निर्वाचित सत्ता हत्याएर शासन आफ्नो हातमा लिएका सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु माथि सेनाले गोली चलाउदा कम्तीमा ३८ जनाको हत्या भएको छ ।

बुधबार प्रदर्शनमा सहभागी भएका ३८ जनाको ज्यान गएको हो । फेब्रुअरी १ मा आङ साङ सुकीसहितका नेतालाई नियन्त्रणमा लिएर सेनाले सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा बुधबार सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको हो । प्रदर्शनकारीमाथि भएको ज्यादती तथा बल प्रयोगलाई संयुक्त राष्ट्रसंघले निन्दा गर्दै बुधबारको दिन रक्तपातपूर्ण रहेको उल्लेख गरेको छ । म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय दूत क्रिष्टिन श्रेनर बर्गनरले ज्यादतीका गम्भीर भिडियोहरु आइरहेको बताएकी छन् ।

सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि रबर र लाइभ बुलेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । म्यानमारभर सैनिक शासकविरुद्ध प्रदर्शन तथा अवज्ञाहरु भइरहेका छन् । प्रदर्शनमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि सहभागी भएका छन् । प्रदर्शनकारीले सैनिक शासन अन्त्य हुनु पर्ने र सुकीसहितका निर्वाचित नेताहरुलाई रिहा गरिनु पर्ने माग गरेका छन् ।