सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा बाँडिएपछि नेपाली कांग्रेस आगामी दिनमा नयाँ सरकार गठनका लागि सत्ताको साँचो बन्ने देखिएको छ । दुई समूहमा बाँडिएको नेकपा कानुनी रूपमै विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकार गठनका लागि मुख्य भूमिकामा पुग्नेछ ।
नेकपाभित्रको आन्तरिक विवाद कसरी अघि बढ्छ, स्पष्ट भइनसके पनि कांग्रेसभित्रको सत्ता राजनीतिले पार्टीका शीर्ष नेताहरू सरकारमा सहभागिताको पक्ष–विपक्षमा उभिएका छन् ।
नेकपाभित्रको आन्तरिक विवाद दुई वर्षअघि जस्तै अचानक एकतामा परिणत भए कांग्रेस फेरि पनि कमजोर प्रतिपक्षीको भूमिकामा रहनेछ । तर कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने र टिकिराख्ने रणनीतिका कारण शीर्ष नेताहरू अहिले नै सरकारमा सहभागिताबारे पक्ष– विपक्षमा देखिएका छन् ।
सभापति शेरबहादुर देउवा नेकपा विभाजित भएको खण्डमा दुईमध्ये एक समूहसँग मिलेर सरकारको नेतृत्व गर्ने पक्षमा छन् । नेता रामचन्द्र पौडेल भने अहिले सरकारमा जान नहुने पक्षमा छन् । कांग्रेसको सहभागिताबिना नयाँ सरकार गठन नै नहुने अवस्थामा नेकपाको दाहाल–नेपाल समूहसँग मिलेर अघि बढ्नुपर्ने पक्षमा पौडेल र उनी निकटका नेताहरू देखिएका छन् ।
कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आएमा संसदीय दलको नेतासमेत रहेका सभापति देउवा नै मुख्य दाबेदार हुनेछन् ।
मुलुकको कार्यकारी प्रमुखको भूमिकामा देउवा पुग्दा भदौमा हुने पार्टीको १४औं महाधिवेशनमा त्यसको प्रभाव पर्ने पौडेल पक्षधरको बुझाइ छ । त्यस्तो अवस्थामा देउवालाई पार्टी नेतृत्वबाट विस्थापन गर्न अझै कठिन हुने ठम्याइ उनीहरूको छ । त्यसैले पौडेलसहितका नेताले जनताले पाँच वर्ष कांग्रेसलाई विपक्षमा बस्न जनमत दिएको बताउँदै आएका छन् । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २० फागुन २०७७, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस शीर्ष नेताको बैठक स्थगित
कांग्रेस पदाधिकारी बैठक बस्दै : राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल
'अरू पार्टीमाथि प्रहार गर्नुभन्दा आफ्नो पार्टी सम्हाल्न उचित हुन्छ'
लिपुलेकबारे भारत र चीनले गरेको सम्झौता अस्वीकार्य : कांग्रेस
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
नेपाली कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक