यस्तो छ विप्लवसँग वार्ताको जिम्मेवारी पाएका गृहमन्त्री थापा र विप्लवबिच सम्बन्ध

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, ०९ : ५८
यस्तो छ विप्लवसँग वार्ताको जिम्मेवारी पाएका गृहमन्त्री थापा र विप्लवबिच सम्बन्ध

काठमाडौं । एकै स्कुलिङका नेता हुन्, गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) । पाँच वर्ष अघिसम्म यी दुवै एकै पार्टीका प्रभावशाली नेता थिए । तत्कालिन माओवादीका ‘सुप्रिमो प्रचण्ड’ ले क्रान्तिमाथी गद्दारी गरेको आरोप लगाउदै दोश्रो संविधानसभाको चुनाव बहिष्कार गर्ने देखि त्यसबेला चुनाव विथोल्न सानातिना विष्फोटका योजना दुवै नेतासँगै बसेर बनाउँथे । 

५ वर्ष यता दुई नेताको बाटो अलग छ । विप्लव अझैं पनि क्रान्तिमा गद्दारी भएकै निश्र्कषमा छन् । बादलहरु संसदीय ब्यवस्थामा आएको बुझाई विप्लवमा छ । बादलहरु भने अहिले भएका उपलब्धीको रक्षा गरेर जानुपर्नेमा उभिएका छन् । संयोग यस्तो परेको छ की, अहिले सरकार र विप्लव नेतृत्वको नेकपाका बीचमा औपचारिक वार्ता हुदैंछ । सरकारले बनाएको वार्ता टोलीको नेतृत्व गृहमन्त्री बादलले पाएका छन् । उनले अब एक समयका आफ्नै सहकर्मी जुनियर नेता प्रकाण्डसँग सरकारका तर्फबाट वार्ता गर्दैछन् ।

‘विप्लवको स्वभाव प्रचण्डसँग मिल्न खोज्छ, आफैमा सबै कुराको केन्द्रीकरण गर्न खोज्ने र महत्वाकांक्षी पनि । आफुलाई लागेको काममा ढृढ भएर लागि पर्ने । तर, बादलको स्वभाव त्यस्तो छैन् ।’ दुवै नेतासँगै निकट रहेर सहकार्य गरेका र अहिले नेकपाको प्रचण्ड नेपाल समुहमा रहेका नेता हितमान शाक्य भन्छन्, ‘बादल छलफल÷बहसमा राम्रोसँग सहभागी हुने, निर्णायक निर्णय गर्नुपर्ने बेलामा बीचको भूमिका खेल्ने र फेरि एउटा परिघटना घट्यो भने बोल्ड डिसिजन लिने स्वभावका छन् ।’

 १२ वर्ष ११ महिना जेठा बादल
फरक सामाजिक पारिवारिक पृष्ठभूमि छ, यी दुई नेताका बीचमा । बादल जनजाति पृष्ठभूमिका नेता हुन् भन् विप्लव ठकुरी खान्दानका । विप्लव भन्दा बादल उमेरमा जेठा छन् । यी दुईका बीचमा झण्डै १२ वर्ष ११ महिना उमेरमा अन्तर छ । दुवै नेता मध्यम वर्गीय परिवारमा जन्मिएका हुन् । २०१२ वैशाख १९ गते गुल्मीमा जन्मिएका थिए बादल । विप्लव भने २०२४ फागुन ११ मा रोल्पाको इरिवाङमा । 

बादलका पिता इन्डियन आर्मीका लेफिटिनेन्ट कर्णेल भई रिटायर्ड भएका थिए । इन्डियन आर्मी भएका कारण बावुको जता–जता सरुवा हुन्थ्यो, उनी त्यत्तै–त्यत्तै गएर पढ्ेका थिए, त्यही क्रममा उनले सिलुङमा एक, देहरादुनमा चार र हैदरावादमा ८ कक्षासम्म पढेका थिए । बावुको पेन्सनपछि बादलको परिवार गुल्मीबाट चितवन बसाई सरेका थिए । बादलले चितवनकै शारदा माविबाट २०३१ मा एसएलसी पास गरे । विप्लवका पनि काकाबावुहरु इन्डियन आर्मीमा थिए । तर उनका आफ्नै परिवारमा भने कोही पनि आर्मीमा थिएनन् ।रोल्पाको इरिवाङबाट औपचारिक शिक्षा शुरुआत गरेका विप्लवले लिवाङको बालकल्याण माविबाट २०४३ मा एसएलसी पास गरेका थिए । 

बादल एसएसली पछि चितवनकै रामपुर कृषि क्याम्पसमा पढे । आइएस्सीएजी सकेपछि डिग्रीका लागि फ्रि कम्पीटिसन छनौटमा परेर सोभियत संघ मस्कोको लुमुम्वा विश्वविद्यालयमा वालीविज्ञान पढेका थिए । २०३५ मा उनी स्वदेश फर्केर राजनीतिमा सक्रिय भए । विप्लव भने एसएसली पछि रोल्पाबाट काठमाडौं आए । नेपाल ल क्याम्पसमा भर्ना भए, कानुन पढ्न थाले । २०४४ सालमा अध्ययनका लागि काठमाडौं आएका विप्लवले स्नातक तेश्रो वर्षमा भर्ना हुने बेला सक्रिय राजनीति गर्न थाले । त्यसपछि २०४८ देखि उनले औपचारिक अध्ययन छोडेका थिए । 

आफु जन्मेको ठाउँवाट बसाई सर्ने बादलको परिवार जस्तै विप्लवको परिवार पनि रोल्पाबाट बसाई सरेर कपिलवस्तुको शिवगढी आएका थिए, २०४५ सालमा । त्यहाँ विप्लव परिवारको पहिले देखि नै केही जमिन थियो, त्यँही घर बनाएर विप्लवको परिवार वसे । अहिले पनि विप्लवको त्यही शिवगढीमा स्थायी घर छ । 

राजनीतिक यात्रा
रामपुर कृषि क्याम्पस अध्ययनकै बेला प्रचण्ड लगायतसँगको संगतमा बादल राजनीतिमा प्रवेश गरेका थिए । पछि रसियामा अध्ययनका क्रममा पनि उनको मनमोहन अधिकारीका छोरा प्रकाश लगायतसँग सम्र्पक भयो । उनी राजनीतिमै तानिए । ०३५ मा स्वदेश फर्केपछि वहुदलको पक्षमा आन्दोलित भए । ०३७ मा पार्टीमा निवेदन दिएर बादलले पूर्णकालिन राजनीति शुरु गरे । प्रचण्डको प्रस्ताव र अमिक शेरचनको समर्थनमा उनले पार्टी सदस्यता लिएका थिए । उनको पार्टी नाम पहिले लाल सिंह, पूर्णकालिन बनेपछि आकाश र पछि बादल ।

विप्लवको राजनीति भने विद्यार्थी राजनीतिबाट जोडिएर आएको छ । विद्यार्थी राजनीतिमा विप्लव २०३९ देखि सक्रिय भएर लागे । २०४३ मा विद्यार्थीको रोल्पा अध्यक्ष, २०४८ मा विद्यार्थी केन्द्रीय सदस्य हुँदै उनी माओवादीले जनयुद्द शुरु गर्दा विद्यार्थीको केन्द्रीय उपाध्यक्ष तथा पार्टी ललितपुर जिल्ला सेक्रेटरी थिए ।

नेकपा केन्द्रीय सदस्य रामदीप आचार्यका भनाईमा, विप्लवले विद्यार्थी मोर्चा र बादलले पार्टी आन्तरिक मोर्चाबाट राजनीति शुरु गरेका थिए । ‘अन्र्तमुखी स्वभावका छन्, बादल । तर विप्लव बर्हिमुखी स्वभावका । त्यही स्वभावका आधारमा विप्लव सबैसँग सम्वन्ध राख्न सक्छन्, छिट मान्छेलाई कन्भिन्स पनि गर्न सक्छन्,’ आचार्य भन्छन् ।

बादलको जनवादी र विप्लवको जन्ती सहितको मागी विवाह
बादलको विवाह जनवादी थियो, तर विप्लवको प्रेम अनि मागी विवाह । २० वर्षको उमेरमा नै ठकुरी मल्ल जातकी सुभद्रा मल्लसँग प्रेममा परेपछि विप्लवको मागी विवाह भएको थियो । पंचेबाजा बजाएर जन्ती सहित विप्लवको विवाह भएको थियो । बादलको विवाह भने पार्टी विवाह थियो । त्यसबेला पेशाले शिक्षिका रहेकी नैनकलासँग पार्टीले नै बादलको विवाह गराई दिएको थियो । विवाहको मिठाई समेत त्यो बला पार्टीले ऋण काडेर बाँढिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व अध्यक्ष रहेकी नैनकला पनि त्यसबेला पार्टी कार्यकर्ता नै थिइन् । 

बादल–विप्लव दुवै राजनीतिक आन्दोलनका क्रममा जेल समेत परेका छन् । २०३८ मा चुनाव बहिष्कारका क्रममा बादल शान्ति सुरक्षाको पुर्जीमा पक्राउ परे । त्यसबेला उनी झण्डै १० महिना जेलमा बसेका थिए । त्यसपछि भने जेलको चिसो छिँढी उनले जानु परेन । विप्लव भने पटक–पटक जेल परेका छन् । २०४५ मा तीन पटक, २०४८ र २०५० मा गरि थप तीन पटक गरि ६ पटक उनी प्रक्राउ परे । जब जनयुद्ध शुरु भयो, त्यसपछि अहिलेसम्म उनले जेलको कालकोठरीमा जीवन बिताउनु परेको छैन् । 

एउटै कमिटिमा १३ वर्ष अघि–पछि
विप्लव र बादलले १६ वर्ष एउटै पार्टीको माथिल्लो निकाय केन्द्रीय कमिटिमा बसेर काम गरे । बादल तत्कालिन नेकपा मशाल (मोटो मशाल) हुँदंै पार्टी केन्द्रीय समितिमा पुगेका थिए । त्यसको १३ वर्ष पछि मात्रै विप्लव पार्टी केन्द्रीय समितिमा पुगे । बादल २०४२ सालमा र विप्लव  २०५५ सालमा मात्र केन्द्रीय समितिमा पुगेका थिए ।

२०५५ देखि २०७१ असोजसम्म गरि १६ वर्ष यी दुवै नेताले एउटै पार्टी र त्यसको पनि माथिल्लो निकाय केन्द्रीय समितिमा रहेर राजनीति गरे । पछिल्लो समयमा पार्टी फेरिदा र बाटो छुटिँनु अघिसम्म उनीहरु मध्ये बादल मोहन वैद्य (किरण) नेतृत्वको तत्कालिन नेकपा–माओवादीको महासचिव र विप्लव सचिव थिए ।
एकै पार्टीमा रहँदा यी दुई नेताबीच कामको जिम्मेवारीमा एउटै कार्यक्षेत्र कहिल्यै परेन् । माओवादी शान्ति प्रक्रियामा आएपछिको उक्त पार्टीभित्रको बहुचर्चित ‘धोबिघाट गठबन्धन’ पछि दुवै नेताका बीचको आत्मियताको सम्बन्ध बढेपनि अन्य बेला गहिरो सम्बन्ध नदेखिएको दुवै नेतासँग सम्बन्ध राखेका तर अहिले प्रचण्ड नेपाल समुहमा रहेका नेता मोहन कार्की (जीवन्त) बताउँछन् । ‘बादल र विप्लव बीचको सम्बन्ध त्यक्ति गाढा र घनिष्ठता पहिले देखि नै होइन्, बादलले केही गरिदिए हुन्थ्यो भन्ने आकांक्षा सम्म विप्लवजीले राख्नुहुन्थ्यो, तर बादलले केही गर्दैनन् भन्नेमा उहाँ (विप्लव) पहिले देखिनै स्पष्ट हुनुहुन्थ्यो,’ कार्की भन्छन् ।

माओवादी शान्तिप्रक्रियामा आएपछि मात्रै बादल र विप्लवका बीचमा हिमचिम र सम्बन्ध बाक्लिएको थियो । त्यो पनि धोबिघाट गठबन्धनपछि मात्र । ‘माओवादीभित्र चुलिएको अन्तरविरोधमा गुटबन्दी भयो । वैद्य, विप्लवहरुको गुप्रमा बादलजी बेलाबेला भेटघाट, छलफलमा आउने गर्नुहुन्थो । त्यसपछाडी निर्णायक लडाई भयो खरिपाटीमा । बादलजीको भूमिका बीच–बीचको रह्यो,’ त्यसबेला बादल विप्लवसँगै रहेका नेकपाका एक केन्द्रीय नेता भन्छन्,  –‘धोबिघाट गठबन्धनपछि सैन्य आयोग संयोजक बादललाई बनाईएको थियो, तर बादलजीसँग सल्लाह नै नगरी प्रचण्ड–बावुरामले सेना समायोजनको लागि चाबी बुझाउने निर्णय गरेपछि बादलको पनि प्रचण्डसँग परिहाल्यो । त्यसपछि मात्र बादल–विप्लव सम्बन्ध बाक्लिएको थियो ।’

पार्टीभित्र नयाँ विषय देखा प¥योकी त्यसबेला किरण, बादल, विप्लव, देव गुरुङ र हितमान शाक्य ५ जनाको धेरैजसो अलगै बैठक बस्थ्यो । त्यही बेला देखि माओवादी विभाजन हुँदासम्म मात्र दुई नेताका बीचमा गहिरो सम्बन्ध बनेको थियो । नत्र त्यसअघि र पछि पनि खास गहिरो सम्बन्ध दुई नेताका बीचमा नदेखिएको नेताहरु नै बताउँछन् । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपि गजुरेलको भनाईमा, बादल–विप्लवको सम्बन्ध सेतुका रुपमा कुलप्रसाद केसी (सोनाम) ले भूमिका खेल्थे । सोनाम अहिले प्रदेश ५ मा नेकपाका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री छन् । 

‘तत्कालिन माओवादीमा देखिएको दुई लाइन संर्घषमा बादल धेरैपछि मात्र खुलेका हुन् । प्रचण्डहरुसँग सम्बन्ध विच्छेद गरि नयाँ पार्टी बनाउने अभियानमा बादल एक्लै आएका हुन्,’ गजुरेल भन्छन्,–‘बादललाई पनि क्रान्तिकारी समुहमा ल्याउनुपर्छ भन्नेमा हितमान शाक्य (सुमन) र कुलप्रसाद केसी (सोनाम) अलिक बढी नै लागेका थिए, विप्लवको बादललाई ल्याउनेमा त्यक्ति योगदान थिएन् ।’ जीवन्त पनि त्यसबेला विप्लवले बादलसँगै आउँदा बाहिर एउटा पावर देखाउन काम लाग्ने भएपनि अपेक्षा नै गरेर मरिहत्ते भने नगरेको स्मरण गर्छन् । उनी भन्छन्,–‘दुई लाइन संर्घषमा बादललाई घिसारेर, तानेर लगिएको हो । सुमन र सोनामहरुको बढी जोडबल थियो । विप्लवले बादल आए भने एउटा पावर बन्छ भन्ने अपेक्षा मात्र राखेका थिए । किरण (मोहन वैद्य) आउँदा राष्ट्रिय÷अन्तराष्ट्रिय लिडरको ब्रान्ड बन्छ भन्ने सोच विप्लवमा थियो ।’

युद्धकालमा पूर्व–पश्चिमका कार्यक्षेत्र
माओवादीले जनयुद्ध शुरुआत गर्नुअघि रोल्पा–रुकुममा ‘सिज’ (सिस्ने र जलजला हिमाल) अभियान ‘बादल’को नेतृत्वमा चलाएको थियो । यो ०५१–०५२ साल तिरको कुरा हो । त्यही अभियानले जनयुद्दको आधार तयार गरेको माओवादी धारका नेताहरु बताउने गर्छन् । बादल रोल्पा रुकुममा सिज अभियान लिएर पुग्दा विप्लव काठमाडौंमा थिए । उनी विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष तथा पार्टी ललितपुर जिल्ला सेक्रेटरी थिए ।

बादल पश्चिममा छँदा विप्लव त्यहाँ थिएनन् । जनयुद्ध शुरु भएको केही समयभित्रै बादल पार्टीभित्र सांस्कृतिक कारवाहीमा परे । बादल कारवाहीमा पर्नु केही अगाडी मात्र विप्लवलाई भ्यालीबाट पार्टीले पश्चिम त पठायो, तर कर्णालीतिर । बादल कारवाहीमा पर्दा धौलागिरि तिर हितमान शाक्यको कार्यक्षेत्रतिर पठाइयो । एक वर्ष जति उनी कारवाहीमा बसे, पछि फुकुवा भएपछि उनलाई पूर्वतिरको जिम्मेवारीमा पार्टीले पठायो ।

विप्लव भने २०५४ जेठमा सरुवा भएर कर्णाली पुगे । कर्णाली उपक्षेत्रीय ब्यूरोको इन्चार्ज हुदै ०५५ सालमा पार्टीको चौथो बिस्तारित बैठकवाट उनी केन्द्रीय सदस्य पनि भए । २०५९ मा राप्तीमा नै काम गर्दागर्दै उनी पोलिटब्यूरो सदस्य बने । २०५९ देखि २०६३ सम्म राप्तीमा नै काम गरे । केन्द्रीय आधार इलाका ब्यूरो इन्चार्जका जिम्मेवारीमा थिए उनी त्यसबेला । पछि उनी पार्टीको सचिवालय सदस्य पनि भए ।

‘उहाँहरुबीच वैचारिक राजनीतिक छलफल बहस त हुन्थ्यो होला, तर सँगसँगै बसेर काम गरेको युद्ध अवधीभर देखिएन्,’ विप्लव विद्यार्थी उपाध्यक्ष रहँदा महासचिव रहेका जसपाका नेता गंगानारायण श्रेष्ठ भन्छन्,  ‘पश्चिममा बस्दा पनि बादल र अनन्त, पूर्वमा आँउदा पनि बादलसँग अनन्त नै हुनुभयो । बादलसँग बसेर विप्लवले काम गर्नै पाएनन् ।’

बादललाई महामन्त्री बनाउन लविङ
२०४२ सालतिरबाटै जनयुद्दको आन्तरिक तयारी गर्दै गरेको प्रचण्ड, किरणहरुले पटक–पटक बताएपनि एक दशक बितिसक्दा पनि आँटेका थिएनन् । विप्लव, मणि थापा, गंगा श्रेष्ठ लगायत युवा नेताहरु तत्काल जनयुद्ध शुरु गर्नुपर्छ भनी हत्तारिएका थिए । उनीहरुले पार्टी नेतृत्वलाई भेटेर दबाब पनि बढाईरहेका थिए । बादल भने राप्तीको आधार इलाकामा रहेर सिज अभियानको फिल्डमै बसेर प्रत्यक्ष नेतृत्व गरिरहेका थिए ।

त्यस क्षेत्रमा बादलको लोकप्रियता यति थियोकी, रोल्पा रुकुमका कतिपय स्थानमा बादलको नाममा सार्वजनिक भित्ताहरुमा स्लोगनहरु लेखिएका थिए । बादलकै निर्देशनमा कामको जिम्मेवारी नपाएपनि रोल्पामै जन्मिएका विप्लवलाई त्यहाँ बादलको बढ्दो लोकप्रियता थाहा थियो । त्यही बीच जनयुद्द तयारीकै एउटा भेलामा रोष्ट्रमबाट बादल सम्बोधन गरिरहेका थिए । त्यही बेला रोष्ट्रममा एउटा चिट पुगेको थियो । चिटमा पार्टी महामन्त्री बादललाई बनाउनु पर्छ भन्ने लेखिएको थियो । 

‘रोष्ट्रममा त्यसले ठूलो खैलाबैला मच्चियो । कसले पठायो, पठायो भन्ने हुँदा विप्लवहरुको टोलीले पठायो भन्ने भयो । त्यो पछाडी प्रचण्ड र विप्लवको परेको थियो,’ त्यसबेला बैठकमा सहभागी रहेका नेकपाका एक नेता भन्छन्, –‘विप्लवहरुले बादलसँगको सामिप्य सम्बन्धका कारण भन्दा पनि छिटो जनयुद्दको हुटहुटीका कारण त्यस्तो चिट रोष्ट्रममा पु¥याएका थिए ।’
त्यसपछि जनयुद्ध शुरु भईहाल्यो, यानप्रसाद गौतमसँग विप्लवको अन्तरविरोध चर्कियो । नियतबस नै उनलाई काठमाडौंबाट कर्णाली हुत्याइयो । पश्चिम कर्णालीमा पुगेपछि पनि विप्लवले जमेर काम गरे । र त्यहाँ स्थापित भए । अनि पार्टीको बिस्तारित बैठकवाट विप्लव केन्द्रीय समितिमा पुगे । 

पार्टी विभाजन पछि मात्रै अन्तरविरोध
जनयुद्धकालभरी यी दुई नेताका बीच देखिने गरि प्रत्यक्ष दुई लाइन संर्घष नै परेन् । शान्ति प्रक्रियामा आएर माओवादी विभाजन पछि भने अदृश्य रुपमा केही अन्तरविरोध देखा प¥यो । तत्काल क्रान्ति अगाडी बढाउनुपर्छ भन्ने सोच र धारणा राख्थे, विप्लव । तर बादल भन्थे, ‘क्रान्ति रोमान्समा हुदैन्, रोमाञ्चकारीता होइन । आज साँझ हिडेपछि भोलि बिहानै लक्ष्यमा पुगिहाल्ने ।’ यसरी कँहा हुन्छ क्रान्ति ? बादल भन्थे ।

एकपटक दुवै नेता अन्य केही नेताका साथ जनयुद्द दिवस मनाउन रोल्पाको थवाङ जाँदै थिए । थवाङ जाँदै गर्दा भेडीखर्कको खोलामा उनीहरुले विश्राम लिए । बादल थकित भएर बसिरहेको र विप्लव लट्ठी टेकेर हाँसिरहेको फोटो (हेर्नुहोस्, तस्विर) त्यही बेला खिचिएको थियो । विप्लवले त्यसबेला पार्टी अब युवाहरुलाई जिम्मा लगाउने बेला आएको भनी ठट्टा गरेको तस्वीर खिचेका पत्रकार जीवन हमाल बताउँछन् ।

‘तपाई (बादल) जस्ता सिनिएरहरुलाई उकाली–ओरालीले समस्या गरायो । अब पार्टी युवाहरुलाई जिम्मा लगाउनु पर्यो, होइन र बादल दाई ?’ त्यसबेला विप्लवले त्यसो भन्दा बादल केही बोलेका थिएनन् । 

कार्यदिशामा जुहारी
विप्लव र बादलवीच पार्टी कार्यदिशामा विवाद बढेपछि जुहारी चल्थ्यो । आ–आफ्नै गुटका प्रशिक्षण हुन थालेको थियो । यो २०७१ को जेठतिरको प्रसंग हो । ‘जनयुद्ध खेलौनासँग खेलेजस्तो होइन । कसैले प्रशिक्षण दिंदैमा (विप्लवप्रति लक्षित गर्दैं) त्यो सम्भव छैन् । दीर्घकालीन रणनीति भन्ने बित्तिकै कोही क्रान्तिबाट भागेको भन्ने होइन,’ बादल भन्थे । तर विप्लव जनयुद्धको जगमा पुनः जनयुद्धको निरन्तरता पार्टीको कार्यदिशा बनाउनु पर्ने भन्दै जिल्ला जिल्लामा प्रशिक्षण दिँदै हिडेका थिए ।

तत्काल जनविद्रोह की आन्दोलन मात्र भन्नेमा विवाद थियो । त्यसबेला देखि नै विप्लव वैकल्पिक सत्ता, संविधानको खाका र समानान्तर सरकार गठन गर्नुपर्ने पक्षमा थिए । टकराव घुमाउरो पाराले प¥यो । दस्तावेजका हिसाबले किरण र विप्लवकै बीचमा अन्तर संर्घष चर्कियो, तर ब्यवहारमा भने टकराव विप्लव र बादलकै बीचमा देखिने गरेको कुमार शाह बताउँछन् । जुनकुरा पार्टी बैठकलाई सम्बोधन गर्ने बेलामा पनि विप्लवले देखाउँथे । विप्लव भन्थे,–‘दाईहरुले ..... (दाई हरु भनेपछि किरण र बादल दुवै पर्थे)  ले अघि बढ्ने आँट गर्नुभएन् ।

यी दुई नेतासँग संगत गरेका नेताहरुका अनुसार, नेकपा–माओवादीमा रहँदा अनौपचारिक छलफलका क्रममा विप्लव बादललाई भन्थे, –‘भ्याली छोडेर क्रान्ति गरौं ।’ बादल भन्थे, ‘भ्याली छोडेर कँहा जाने ?’ विप्लव भन्थे,–‘थवाङ । आधार इलाका बनाउने ।’ तर त्यहाँबाट काहँ जाने ? बादल प्रश्न माथी प्रश्न गर्थे । पार्टीमा पनि भनेजस्तो हैसियत आफुलाई दिएनन् भन्ने विप्लवलाई रही रहयो । एकीकृत माओवादी विभाजन पछि यी दुई नेताका बीचमा मोहन वैद्य (किरण) लाई पार्टी संरक्षक बनाउन अनौठो साँठगाँठ पनि देखिएको थियो । बादल अध्यक्ष बन्ने, विप्लव महासचिव बन्ने र मोहन वैद्यलाई पार्टी संरक्षक बनाउने । उनीहरुका योजना यस्ता पनि थिए । आफुहरु दुई (बादल, विप्लव) को सेट बनाउने तयारी थियो उनीहरुको  ।

तर वैद्यलाई संरक्षकमा लैजान अन्य नेता कार्यकर्ताले नदिने, वैद्य संरक्षक नगई बादलले महासचिव नछोड्ने भएपछि विप्लवले आफुलाई हैसियत नदिएको भन्ने लागिरह्यो । तर उनले प्रत्यक्ष देखिने गरि देखाउन चाहेनन् । पछि किरणसँग पहिले विप्लवले सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी बनाएर निस्किए, त्यसपछि बादलहरु प्रचण्डतिरै फर्किए । नेकपा माओवादी केन्द्र र एमालबीच एकता बन्यो । तीन वर्ष कायम रहेको यो एकता पनि अहिले ब्यवहारिक रुपमा टुटेको र कानुनी रुपमा मात्र जोडिएको अवस्था छ । बादलले भने यहाँ पनि प्रचण्डलाई छोडेर प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका छन् । कतिपय माओवादी धारका नेताहरुले ओलीलाई साथ दिने बादलको निर्णय स्वखलित निर्णयका रुपमा चित्रण गर्छन् ।

अनिल शर्मा कारवाहीमा चर्काचर्की
वैद्य नेतृत्वको माओवादीमा पार्टी नेता अनिल शर्माको एउटा वक्तव्यलाई लिएर चर्काे विवाद भयो । शर्माले चितवन पार्टी कार्यालय विवादका विषयमा तत्कालिन एमाओवादीका नेतासँग बसेर संयुक्त वक्तब्य दिएका थिए । तर बादलले नेतृत्व विरुद्द अर्नगल प्रचार गरेको भन्दै वक्तब्य नै निकालेर शर्मालाई २०७१ भदौं २२ मा पार्टीबाटै अनिश्चितकालका लागि निलम्वन गरिदिए ।

त्यसपछि भने बादल–विप्लवका बीचमा चर्काचर्की नै परेको एक नेता बताउँछन् । त्यसपछि विप्लवले पनि बादलको निलम्बनको वक्तब्यलाई खारेज गरिएको भन्दै अर्काे वक्तब्य दिए, २४ वैशाखमा । विप्लवले अनिल शर्मामाथी अनुसासनहिनको आरोप लगाउदै महासचिव बादलले कार्यवाहीको नाममा निकालेको वक्तब्य कुनै कमिटिको निर्णय नभएको साथै पार्टी पद्धती विपरित भएकोले उक्त निर्णय प्रति असहत रहेको जनाउँदै वक्तब्य दिएका थिए ।

त्यसपछि भने देखिदा किरण र विप्लवका बीचको संर्घष जस्तो तर अदृश्य रुपमा बादल र विप्लवकै द्धन्द्ध बढ्यो । विप्लव पार्टी नै छोडेर आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाउन लागे । अहिले त्यही पार्टी बादलकै ठाडो प्रस्तावमा मन्त्रिपरिषदले प्रतिबन्ध लगाएको छ । 
कुनै समय एकै स्कुलिङवाट हुर्किएका यी दुई नेता बीच फरक फरक जिम्मेवारी काँधमा आएको छ । विप्लवलाई शान्तिपूर्ण र वैधानिक आन्दोलनमा ल्याउन वार्ताको जिम्मेवारी बादलको काँधमा आएको छ । अब हेरौं, यो कुन मोडमा पुग्ला ?

प्रतिक्रिया दिनुहोस