केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

रासस

आइतबार, १६ फागुन २०७७, १३ : ५१
केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो ।  

सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो ।“सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक÷दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताए ।  

रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निक्कै मेहनत गर्नुपरेको थियो । 

यसअघि रसुवा भन्सार कार्यालयको एकल प्रयास पहलबाट नाका खोल्न नसकिने जानकारी उसले माथिल्लो निकायलाई दिइसकेको थियो । परराष्ट्र मन्त्रालयले  चिनियाँ दूतावास एवं बेइजिङ र ल्हासामा रहेका आफ्ना कूटनीतिक संयन्त्रहरूमार्फत नाका खोल्न अथक प्रयास गरेको थियो । 

केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ भने राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटामात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजी–रोटीको चिन्ता बढेको थियो । 

प्रतिक्रिया दिनुहोस