फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको तयारी

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, ०९ : ४२
फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको तयारी

सुरेशचन्द्र अधिकारी


काठमाडौँ । प्रधानमन्त्री केपी ओली सके फेरि आफैँ प्रधानमन्त्रीमा टिकिरहने, नसके कांग्रेस सभापतिलाई आफूहरुको समर्थनमा प्रधानमन्त्री बनाउने र प्रचण्ड माधव नेपाल समूहलाई सरकारमा जानबाट रोक्ने र त्यो पनि सम्भव नभए कसैको पनि सरकार बनाउन नसक्ने वातावरण निर्माण गरिदिएर फेरि संसद विघटन गरी आफँै सरकारमा टिकिरहने गुरुयोजनाका साथ अगाडि बढेका छन् ।

संसद भंग गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वाेच्चले असंवैधानिक कदमको रुपमा ठहर गरेर प्रधानमन्त्रीको निर्णयलाई बदर गर्दासमेत ओलीले नैतिकताका आधारमा राजीनामा नदिई सरकारमा टिक्ने योजनाको कोसिसमै लागेपछि राजनीति थप जटिल बन्न थालेको छ । ओलीले निर्वाचन आयोगलाई दबाबमा राखेर कुनै पनि निर्णय गर्न नदिने र नेकपाका सांसदहरुलाई पैसाको चलखेलमा विभिन्न प्रलोभन देखाई किन्न खोज्ने प्रवृति पनि बढ्न थालेको छ । आफू संसदीय दलमा सक्दासम्म बहुमत अवस्थामा रहन उनले केही सांसदलाई आकर्षक प्रलोभनमा पार्ने अनेक जमर्काे गरिरहेका छन् ।

बालुवाटार निकट स्रोतका अनुसार ओलीले कानुनी रुपमा नेकपा विभाजनको अवस्था आउन नदिने र यस्तै जिकज्याकमा राखिरहने, संसदीय दलको बैठक नराख्ने, आफू आधिकारिक भएको जिकिर गरिरहने, अर्काे पक्षले बहुमत संसदीय दलमा पुराए पनि त्यो विधानविपरीत बैठक नबोलाइएको तर्क अगाडि सार्ने र आफूबाहेक अर्काे पक्षलाई नस्वीकार्ने रणनीति अवलम्बन गर्न खोजेका छन् ।

यदि कदंकदाचित प्रचण्ड नेपाल समूहले ओलीको यो योजनालाई असफल बनाउन लागे भने ओलीले कांग्रेससँग सहकार्यको प्रस्ताव अगाडि बढाउन चाहेका छन् । आफूप्रति आशक्तिमा रहेका कांग्रेस सभापति शेरवहादुर देउवालाई फकाएर ओलीले सक्दा आफू नेतृत्वको सरकारमा कांग्रेसलाई पनि सहभागी गराउने, त्यसो गर्न नसकिए  देउवालाई नै प्रधानमन्त्रीको अफर गरेर भए पनि प्रचण्ड नेपाललाई सरकारमा सहभागी हुने बाटो छेक्ने योजनामा ओली देखिन्छन् ।

यो विकल्पमा पनि काम हुने अवस्था नदेखिए उनले कानुनी रुपमा नेकपा पार्टी विभाजन नभएको अवस्थालाई जोड गरेर कसैको पनि सरकार बन्न नदिने भित्री चलखेल गर्ने योजना बनाएका छन् । ओली निकटका एक सांसदले सफल खबरसँग भने, त्यस्तो अवस्थामा फेरि संसद विघटन गरेर चुनावमा जाने गरी घोषणा हुनेछ । यसको पूर्वसंकेत उर्जामन्त्री टोपबहादुर रायमाझीले पनि गरिसकेका छन् । रायमाझीले फेरि कसैको पनि सरकार गठन हुन नसक्ने अवस्था आउन सक्ने र त्यस्तो अवस्थामा संसद विघटन गरेर फेरि पनि चुनावमै जानुपर्ने अवस्था आउन लागेको बताएका थिए ।

बालुवाटारको कोठरीमा यस्ता विभिन्न विकल्पमा छलफल चलिरहेको स्रोतको भनाइ छ । २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघटन गर्ने प्रस्तावमा सर्वाेच्चले साथ नदिए पनि राजीनामा नदिई संसदको फेस गरेको उदाहरण प्रस्तुत गर्दै ओली पक्षले पनि त्यही बेलाको जस्तै नीति अहिले अख्तियार गर्ने बताइरहेका छन् ।

ओलीका प्रमख राजनीतिक सल्लाहकार विष्णु रिमालले त्यसको पुष्टि गर्दै सामाजिक सन्जालमै टिप्पणी लेखेका थिए । संसदमा अविश्वास प्रस्ताव ल्याए त्यही फेस गर्ने भनेर ओली पक्षले अहिले दावी गरिरहेको छ । तर ओली पक्ष संसद र पार्टी केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य संख्या नपुग्ने अवस्थामा पार्टी विभाजनको चित्र कोरिन नदिने रणनीति छ । त्यसका लागि उनले निर्वाचन आयोगमाथि दबाब बढाउन थालेको छन् । प्रचण्ड माधव नेपाल पक्षले निर्वाचन आयोगमा आधिकारिकताका लागि दिएको निवेदन विवाद शुरु भएको ३० दिन कटेर आएको भन्दै त्यसलाई वैद्यता नदिई टारिदिन दबाब बढाइरहेका छन् । सक्दा आफूलाई आधिकारिकता दिन र नसक्दा प्रचण्ड माधवलाई पनि तत्काल नदिन आयोगलाई ओलीले दबाब बढाइरहेका छन् ।

आयोगले निर्णय नदिँदा संसदीय प्रक्रियामा झन पेचिलो विवाद सुरु हुने देखिएको छ । जसले गर्दा कसैको पनि सरकार गठन नभएको र नुहने वअस्था सिर्जना गर्ने दाउमा ओली लागेका छन् । त्यसो गर्दा उनले आफनो सरकारको आयु लम्वाउन सकिने विश्लेषण गरेका छन् ।

‘उहाँले (प्रधानमन्त्री) सरकार छोडनुहुन्न, संसदमा जे परिस्थिती आइलाग्छ, त्यसको सामना गरेर जानुहुन्छ,’ ओली निकटका नेता विशला भटटराईले सफल खबरसँग भने,–‘संसदमा हामी बहुमतमा छौँ, उहाँहरुले दल नेताबाट हटाउन सक्नु हुन्न । उहाँहरु झन कमजोर र प्रधानमन्त्री झन बलियो बन्दै जानुभएको छ । अब सरकार झन टिकिरहन्छ र रहिरहन्छ ।’

तर उनले सरकारमा कसरी रहने भन्न्ने बारेमा कुरा खुलाएनन् । तर ओलीले आफँै टिक्ने रणनीति बनाइरहेका छन् । टिक्न नसके कसैको पनि सरकार बन्न नसक्ने अवस्था सिर्जना गरेर फेरि संसद विघटन गर्ने बाटोको खोजी गरिरहेको स्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस