काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकास सम्भव नरहेको बताएका छन् । उनले आफू नेतृत्वको नेकपासहित काँग्रेस र जनता समाजवादी पार्टी नेपालबीचको सरकार बने भारतका लागि समेत कम्फर्टेबल हुने समेत बताए ।
शुक्रबार राति एक टेलिभिजन अन्तरवार्तामा प्रचण्डले भने, ‘यहाँ कोही कसैका विरुद्ध षड्यन्त्र होइन यो, ती शक्ति मिल्दा नै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने भयो र इतिहासले जसलाई अगाडि बढ भनेको हो तिनै अघि बढ्नुपर्यो । त्यसो भएर मेरो भनाइ नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा देशको राजनीति चेक एण्ड ब्यालेन्स पनि हुन्छ, सन्तुलनमा पनि बस्छ । सबै छिमेकीहरुसँगको सम्बन्ध राम्रो भएर पनि जान्छ । भारतसँग पनि चीनसँग पनि राम्रो सन्तुलन हुन्छ ।
अझ भारतसँगको हाम्रो जुन विशिष्ट सम्बन्ध छ, इतिहास, भूगोल, संस्कृति, धर्म–परम्परा, अर्थतन्त्र, पानीढलो, खुला सीमाना सबै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन पनि नेपालमा स्थायित्व विकास त हुँदैन । त्यसरी हेर्दा म के देख्छु भने नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतको निम्ति पनि कम्फर्टेबल समीकरण हो । चीनको लागि पनि यो कम्फर्टेबल नै हुन्छ । यति राम्रो सम्भावना अहिले छ, यो सम्भावनामा जानुपर्यो भनेर मैले भनेको छु । फेरि आत्मसमीक्षासहित भनेको छु, यो नै सबैको हितमा छ भन्ने मेरो भनाइ हो ।’
प्रचण्डले अगाडि भने, ‘हिजो गणतन्त्रको आन्दोलन गर्दा असम्भव कुरा हो भन्ने केपी ओली, हिजो माओवादीलाई पनि शान्ति प्रक्रियामा ल्याउने सकारात्मक वातावरण बनाउनुपर्छ भनेर बामदेव गौतम र युवराज ज्ञवाली रोल्पा जानु भयो– म र बाबुराम थियौं अब हामी मिलेर जाने भनियो । त्यो भन्नेलाई कारबाही गर्नुपर्छ भन्ने केपी ओली, समानुपातिक समावेशी हुनुहुँदैन भन्ने केपी ओली, हिजो गणतन्त्रको आन्दोलनको नेता त माधव कुमार नेपाल हो नि । हामी सबै सँगै छौं, नेपाली काँग्रेसको नेता गिरीजाप्रसाद कोइरालाले हिजो साहस गरेर पहल नलिएको भए शान्ति सम्झौता हुन गाह्रो थियो । सात दलको नेताको हैसियतले उहाँले भूमिका खेल्नु भयो । शान्ति सम्झौतामा दुई नेताले हस्ताक्षर गरियो । त्यो सबै शक्ति त हामी एकै ठाउँमा छौँ नि ! यी शक्ति मिल्नुपर्यो भन्या हो ।’
‘नेपाल भारत सम्बन्धको कुरा गर्दा तपाईँले भारतसँग राम्रो सम्बन्ध बनाउन पहल गरेकै हो, विगतमा प्रचण्डले भारतसँगको सम्बधलाई सुमधुर बनाउन सक्नुभएन अविश्वालो बन्नुभयो भन्ने कुरामा चाहिँ तपाईँ के भन्नुहुन्छ’ भन्ने प्रश्नमा प्रचण्डले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा विकास, समृद्धि र स्थायित्वमा चुनौति रहेको बताए ।
अन्तरवार्तामा प्रचण्डले ओलीले राजीनामा दिन ढिलाइ गरिरहको भन्दै आलोचना समेत गरेका थिए भने अब उनीसँग एकताको कुनै सम्भावना नरहेको पनि बताए । ओलीकै कारण पार्टी विभाजित भएको पनि उनको भनाइ थियो ।
प्रचण्डको भनाइ जस्ताको जस्तै :
भारतसँग नेपालको सम्बन्धलाई सुमधुर बनाउनु पर्छ । आपसी विस्वासको धरातलमा उठाउनुपर्छ भन्ने मान्यतामा, ५–७ वर्षदेखि लगातार छु । भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा विकास, समृद्धि र स्थायित्वमा चुनौति हुन्छ भन्ने कन्भिक्सनका साथ भनेको छु। यो बीचमा जति मेरो भारतमा भ्रमण हुँदा, नेताहरुसँग भेट्दा मैले त्यही कुरा भनेको छु । कताकता प्रचण्डले भन्याजस्तो गर्न सकेन भन्ने कुरा पनि परेको हुनसक्छ । तर मेरो भनाइ के छ भने मैले कुनै अर्को मनसायले गरेको छैन । मैले कतिबेला के गर्न सकेँ, कतिबेला गर्न सकिनँ त्यो हाम्रो आन्तरिक मामिला हो । हाम्रो पार्टीको आन्तरिक मामिला पनि हो ।
मैले कसैलाई अविश्वास पैदा होस् भनेर गरेको छैन । भारतप्रति नकारात्मक सोच राखेर मैले केही पनि गरेको छैन । मैले छिमेकीहरुसँग राम्रो सम्बन्ध हुनुपर्छ, भारतसँग पनि चीनसँग पनि भनेको छु, तर भारतसँगको सम्बन्ध विशिष्ट छ । हाम्रो इतिहासले, भुगोलले, संस्कृतिले परम्पराले, धर्मले, अर्थतन्त्रले, पानीढलाले भारतसँगको सम्बन्धलाई राम्रो बनाउनुपर्छ भन्ने डिक्टेक्ट गरेकै छ । तर भारतले म जस्तो मान्छेलाई जसले शान्ति र लोकतन्त्रको निम्ति यत्रो योगदान गर्यो अविश्वास हुन्छ भन्ने लाग्दैन ।
नेपालमा मलाई बेलाबेला मान्छेहरुले बेस्सरी गाली गर्छन् तर अन्तिममा नेता त उही हो भन्छन् । भारतीय जनताले पनि मलाई माया गर्छन् । भारतभरि नै प्रचण्ड राम्ररी जनताको तहमै चिनिन्छ, त्यहाँको मिडिया, बुद्धिजिवि र आमजनताले पनि प्रचण्डलाई सबभन्दा बढी चिन्छन् र माया गर्छन् । किनभने शान्ति ल्यायो । अब प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा भाषण गर्दा ‘युद्धबाट बुद्धतिर’ ‘युद्धबाट शान्तितिर’ तपाईँहरुले ठूलो काम गर्नुभयो भनेर जो भाषण गर्नुभयो मैले बुझेको छु, उहाँले त्यो मलाई नै भन्नु भएको हो । मेरो बारेमा र नेपालको बारेमा उहाँले संयुक्त राष्ट्रसंघको अधिवेशनमा बोल्नुभयो–नेपालको शान्ति विश्वकै लागि एउटा उदाहरण हो भन्ने स्प्रिटमा बोल्नुभयो ।
लालकिल्लाबाट पनि उहाँले हाम्रो बारेमा बोल्नुभयो भने उहाँले मलाई कसरी अविस्वास गर्न सक्नुुहुन्छ ? म कल्पना पनि गर्न सक्दिनँ । एउटा, असल मित्र र छिमेकीको रुपमा कहिँकतै अलीअली बादल र तुँवालो लागेको छ भने पनि क्षणभरमै त्यो तुँवाँलो फाटिन्छ, बादल हट्छ उज्यालो हुन्छ । हामी एकअर्कामा भारतीय, कन्सर्न, चासो चिन्तालाई हामीले सकेसम्म छिमेकीको हैसियतले सम्बोधन गर्ने र हाम्रो चिन्ता र चासोलाई पनि भारतले सकेसम्म सम्बोधन गर्ने र यो सम्बन्ध फेरि विकसित हुन्छ भन्ने म विश्वास गर्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ फागुन २०७७, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता