लगानी बढाउन बैंकहरू आक्रामक

पत्रपत्रिकाबाट

बुधबार, १२ फागुन २०७७, ०८ : ३३
लगानी बढाउन बैंकहरू आक्रामक

काठमाडौं । कोभिड—१९ महामारीका कारण लामो समयसम्म कर्जा विस्तार सुस्त भएका बैंकहरु अहिले आक्रामक हुन थालेका छन् । महामारी कम भई जनजीवन सामान्य हुँदै गएपछि बैंकहरुले लगानी बढाउन थालेका हुन् । कर्जा विस्तार उच्च भए पनि त्यसको तुलनामा बैंकहरुको निक्षेप वृद्धि भने न्यून नै छ ।

नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनामा वाणिज्य बैंकहरुले ४ खर्ब १५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । अघिल्लो आवको यसै अवधिमा बैंकहरुको लगानी २ खर्ब ८७ अर्ब रुपैयाँ वृद्धि भएको थियो ।

चालू आवको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुको कर्जा २५ अर्बले घटे पनि भदौपछि भने लगातार वृद्धि भइरहेको छ । सबैभन्दा बढी पुस महिनामा १ खर्ब ४३ अर्ब लगानी गरेका छन् । माघ महिनामा मात्र बैंकहरुको कर्जा ७४ अर्ब रुपैयाँ वृद्धि भएको छ । यसैगरी फागुन पहिलो सातामात्रै १७ अर्ब ऋण बढेको छ ।

बैंकहरु कर्जा विस्तारमा आक्रामक भए पनि निक्षेप भने खासै वृद्धि हुन सकेको छैन । चालू आवको ७ महिनासम्ममा बैंकहरुको निक्षेप ३ खर्ब रुपैयाँ वृद्धि भएको छ । साउन र कात्तिक महिनामा भने निक्षेप वृद्धि ऋणात्मक भएको थियो ।

गत आवको यसै अवधिमा बैंकहरुको निक्षेप १ खर्व ८८ अर्बले वृद्धि भएको थियो । माघ महिनामा बैंकहरूको निक्षेप ५ करोडले मात्र वृद्धि भएको छ । फागुनको पहिलो सातामा भने निक्षेप १२ अर्ब वृद्धि भएको छ । कारोबार दैनिकमा खबर छ ।