आज खोपको १० लाख डोज नेपाल आइपुग्दै, फागुन २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई लगाइने

सफल खबर संवाददाता

आइतबार, ०९ फागुन २०७७, १० : ४२
आज  खोपको १० लाख डोज नेपाल आइपुग्दै, फागुन २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई लगाइने

काठमाडौँ । आज दिउँसो खोपको १० लाख डोज नेपाल आइपुग्ने भएको छ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोपको १० लाख डोज आइतबार काठमाडौँ आइपुग्न लागेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार आइपुग्ने खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीबाट एयर इन्डियाको विमानमार्फत दिउँसो साढे १ बजे खोपको १० लाख डोज नेपाल आइपुग्न लागेको जनाएको छ । 

यो खोप फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने छ ।