विचार

विनास्रोतको समाचार दिएनौँ : भैरव रिसाल

बुधबार, ०५ फागुन २०७७, १३ : ४४
विनास्रोतको समाचार दिएनौँ : भैरव रिसाल

मैले राससमा २०२० साल भदौदेखि काम शुरु गरेको हुँ । तपाईँहरु अहिले काम गर्दा कति स्वतन्त्रता उपभोग गर्नुहुन्छ मलाई थाहा छैन तर हामीले काम गर्दाखेरि खुब स्वतन्त्रताको उपभोग गथ्र्यौँ । पञ्चायती व्यवस्था भए पनि स्वतन्त्र हिसाबले काम गथ्र्यौँ । यो चाहियो त्यो चाहियो भनेर मन्त्रीसँग बाझ्थ्यौँ । बजेट आउने बेलामा जहिले पनि कचकच हुन्थ्यो । मन्त्रालयले थोरै दिन्थ्यो, हामी धेरै माग्थ्यौँ । बजेट पेश भएको भोलिपल्ट पत्रकार सम्मेलन हुन्थ्यो । त्यस बेला म मन्त्रीसँग राससलाई बजेट कम भयो, थप्नुहुन्छ कि हुन्न भनेर प्रश्न गर्थें । धेरैजसो थपिन्थ्यो । त्यस बेला यादवप्रसाद पन्त, भेषबहादुर थापाजस्ता अर्थमन्त्री थिए ।

Yeti Diistillery Tansen Cement box

रासस र सरकारको नजीकको सम्बन्ध थियो । राससको कार्यालय भवन बनाउनका लागि पनि निकै सङ्घर्ष भयो । सरकारसँग झगडा गरेरै बजेट ल्याई भवन बनायौँ ।  जग्गा लिन र घर बनाउन पैसा चाहियो । पैसा निकै कष्टले सङ्कलन गरियो ।   राससमा गाडी पनि थिएन । प्रधानमन्त्री जहाँ जान लागे पनि मलाई लिन आउनुहुन्थ्यो । फर्किँदा पनि कार्यालय नजीकै ल्याइदिनुहुन्थ्यो । मेरो जीवनकालमा राससमा रहेर काम गर्दाका धेरै रोचक सन्दर्भहरु छन् ।

पञ्चायती व्यवस्थामा बजेट यो दिन आउने भनेर मैले समाचार लेखेँ । यति बजेट आउँदैछ भनेर लेखेको पनि होइन ।  त्यो कुरा राष्ट्रिय पञ्चायतका सदस्यलाई मन परेन । राससले नियम मिच्यो भनेर धुनधान गरे । राससलाई कारवाही गर्ने भने । मैले भनेँ, “राससलाई किन कारवाही गर्ने ? समाचार मैले लेखेको हो । मलाई कारबाही गर्नू ।” पछि कारबाही गर्नतिर चाहिँ गएनन् । 

राष्ट्रिय पञ्चायत अधिवेशनमा रिपोर्टिङ गर्न दिइँदैनथ्यो । उनीहरुले नै समाचार दिन्थे । जनमतसङ्ग्रहपछि हामीले रिपोर्टिङ गर्न पायौँ  तर उनीहरुलाई देखाएर समाचार लेख्नुपथ्र्यो । उनीहरुले सहयोग गर्थे । बुद्धरत्न शाक्य, गोरक्षबहादुर न्हुच्छे प्रधानले हामीलाई समाचार दिनुहुन्थ्यो । रासस र सरकारबीच मित्रता थियो । राससले त्यस बेला राज्यबाट धेरै लियो, झगडा गरेरै लियो । अन्तरद्वन्द्व र अन्तरविरोध सँगै गएको थियो तर राम्रो काम भएको थियो ।   

मैले राससको जति तलब खाएँ, त्योभन्दा बढी मैले राससलाई दिएँ भन्ने मलाई लाग्छ । मैले राससमा करीब २२ वर्ष काम गरेँ । तलबको सबै मूल्य तिरेँ । मेची अञ्चलको काँकरभिट्टामा चार कठ्ठा जग्गा हामीले लियौँ । त्यसको मूल्य अहिले हिसाब गर्नुस्, कति हुन्छ ।  पोखरामा पनि राससको भवनका लागि जग्गा लियौँ । वीरगञ्जमा हुलाकको कार्यालय लियौँ । जनकपुरमा घर बनायौँ । लहानमा घर बनायौँ । विराटनगरमा घर बनायौँ । राससलाई मैले सकेको योगदान गरेको छु । अझ मैले रासससँग मेरो योगदानवापत लिनुपर्छ भन्ने मलाई लाग्छ ।

स्रोत उल्लेख गर्ने विषयमा पनि रोचक प्रसङ्ग छ । एक पटक सरकारले नून, चिनी, मट्टितेलमा भाउ बढाउन खोजेछ । त्यो सूचना मलाई थाहा भयो । समाचार दिएँ । मलाई साह्रै गाल प¥यो । त्यस बेला मकरबहादुर बान्तवा अञ्चलाधीश हुनुहुन्थ्यो । उहाँले एक बोरा चिनी किनेर लानुभएछ । मलाई बजारमा अभाव छैन भनेर समाचार लेख्नू भन्नुभयो । त्यस बेला डा पुष्करनाथ पन्त अर्थसचिव, रामबहादुर रावल सञ्चारसचिव हुनुहुन्थ्यो । उहाँहरुले स्रोत उल्लेख नगरीकन बजारमा नून, चिनी र मट्टितेल अभाव छैन भन्दिनू भन्नुभयो । मैले स्रोतविना समाचार दिदैँनौ भनेँ । त्यस बेला स्रोत उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा सरकारसँग धुनधान नै झगडा हुन्थ्यो ।

स्रोत उल्लेख गर्ने विषयमा अर्को प्रसङ्ग पनि छ । जनमतसङ्ग्रहको घोषणा भयो । स्याङ्जामा नेपाली कांग्रेसका सभापति बिपी कोइराला जाँदा गोली चलेर एक जना मान्छे मरे । राज्यले स्रोत उल्लेख नगरी मान्छे मरेको छैन भनेर समाचार दिन दवाव दियो  तर हामीले जति दवाव दिए पनि विनास्रोतको समाचार दिएनौँ । मैले काम गर्दासम्म अडान लिएँ विनास्रोत समाचार दिदैनौँ भनेर ।

पञ्चायतकै बेलामा भैरव रिसालले गलत समाचार दिन्छ भन्ने भ्रमपूर्ण हल्ला पनि चलाए । त्यस बेला सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो । विरोधमा समाचार आउँथ्यो । रुपचन्द्र विष्ट मेरो परम मित्र, हामी क्यान्टिनमा सँगै चिया खान्थ्यौँ, कुराकानी हुन्थ्यो । थापाले विष्टसँग मिलेर भैरवले मेराविरुद्ध गलत समाचार दिन्छ भनेर भन्नुभएछ । पञ्चायतको बैठक भोलिदेखि शुरु हुँदै थियो । रासस, रेडियो नेपाल र गोरखापत्रका हाकिम बोलाए थापाले र भने, “भैरवलाई डाइलुट गर्न सक्दिन, रिपोर्टिङमा नपठाउनुस् ।” त्यसपछि मलाई डेस्कमा सारे । म त्यस बेला प्रमुख समाचारदाता थिएँ । पञ्चायतको समाचार सङ्कलन गर्न नदिए  मलाई जागीरबाटै बिदा दिनू नि भनेँ  तर सम्पादन शाखामा सरुवा गरिएको सात दिनभित्र  थापालाई महाभियोग लाग्यो । अनि राधेश्याम विष्टले समाचार सङ्कलन वा सम्पादन कहाँ  काम गर्ने भनेर सोध्नुभयो । तीन महिना सम्पादन शाखामा काम गरेर फेरि समाचार सङ्कलनमा फर्किएँ । म राससको जागीर धेरै जुधेर खाएको मान्छे हो ।

रासस सरकारको मिडिया हो । सरकारको भनाइ जस्ताको तस्तै दिनुपर्छ भन्ने मलाई लाग्छ । यो राज्यको संस्था हो । जस्ताको तस्तै दिने तर टिप्पणी पनि दिन पाउनुपर्छ भन्ने मेरो माग थियो । त्यो कहिले सम्भव भयो, कहिले थिएन ।

थापा पछिल्लो पटक प्रधानमन्त्री हुँदाको अर्को पनि प्रसङ्ग छ । हेटौडामा एउटा कार्यक्रम रैछ । हेलिकप्टर सुपारीटार भन्ने ब्यारेकमा झ¥यो । थापा, उहाँको बडी गार्ड र म मात्र थियौँ । थापाले मलाई एक पटक देखाएर मात्र समाचार दिनू भन्नुभयो । मैले मेरो अक्षर राम्रो छैन भनेँ । त्यसो भए समाचार लेखेर मकहाँ आउनुस् भन्नुभयो । मैले समाचार लेखेर हतारहतार लगेँ । उहाँले हेर्नुभयो । एउटा अक्षर संशोधन गर्नुभयो । त्यसपछि मलाई पूर्ण विश्वास गर्नुहुन्थो । पछि समाचार देखाएर छाप भन्नुभएन ।

बिपी, तुलसी गिरी, मरीचमान सिंह राजनीतिक मान्छे हुन् । मेरो विचारमा अरु राजनीतिक मान्छे होइनन् । उहाँहरुको बहुत राम्रो विश्लेषण हुन्थ्यो ।

एक पल्ट राजदरबारले पञ्चायत नीति तथा जाँचबुझ केन्द्रका लागि नामको सूची पठाइदेऊ भनेछ । सिंहले तीन थरि उत्तम, मध्यम र कमजोर मानिसको सूची पठाउनुभएछ ।  छनोट हुने बेलामा सबभन्दा कमजोर परेछ । सिंहमा राजालाई गाल पार्नुहुँदैन भन्ने सोच थियो । सिंह राजनीतिक मान्छे भए पनि उनकै पालामा दश महिना थुनामा परेँ । थुनामा पर्नु अर्कै प्रसङ्ग छ । राससबाट मैले राजीनामा दिएपछि एउटा साप्ताहिक पत्रिकामा ‘एशियाली मापदण्ड ः मन्त्रिमण्डलको खाने भाँडो’ भनेर लेख लेखेँ । अनि राजकाज मुद्दा लगाइएर दश महिना थुनामा परेँ । जनमतसङ्ग्रहपछि सुधारिएको पञ्चायत आउला भनिठानेको त  बिगारिएको पञ्चायत पोे आयो । मलाई रासस साँघुरो लाग्यो । विसं २०४२ वैशाख १ गते राजदरबारमा सुशोभन समारोह थियो । भोलिदेखि रासस छाड्दैछु भनेर जानकारी गराएँ । अनि वैशाख २ गते राससबाट राजीनामा दिएँ ।

अब रासस सरकार र जनता दुवैको आवाज हुनुपर्छ । जनताले अझै पनि दुःख पाएको छ । निर्मला पन्त, भागरथी भट्टका अपराधी पत्ता लाग्न सकेको छैन । राज्यले सञ्चालन गरेको हुनाले राज्यको भनाइ  दिनु नै प¥यो । जनता र राज्य दुवैप्रति राससको कर्तव्य छ । दुवैलाई मिलाएर लैजाने राससको चुनौती हो । बुद्धि, बर्कत लगाई  इमान्दार भएर काम गर्नुपर्छ । अहिले पनि म राससमा लेखिएका समाचारहरु पढ्छु ।  केहीमा रासस लेखिएको हुन्छ, केहीमा हुँदैन । स्रोत कोड गर भन्नेमा त्यो बेला पनि द्वन्द्व थियो । त्यति बेला बिग्रियो भने पनि राससलाई दोष आउँछ भन्यौँ तर हामीले पैसा तिरेर समाचार छापेका छौँ, स्रोत लेख्नैपर्छ भन्ने छैन भन्ने जवाफ दिन्थे ।

त्यस बेला हामी काम धेरै गथ्र्यौं,  सुविधा कम पाउँथ्यौँ । अहिले सुविधा धेरै लिने तर काम कम गर्ने प्रवृत्ति आयो । रासस मात्र होइन अन्य ठाउँमा पनि त्यस्तै छ । राससमा  चित्त नबुझे तत्काल राजीनामा दिएर जाने खालको नेतृत्व हुनुपर्छ, जागीरको लोभ गर्नु हुँदैन । रासस पार्टीको होइन, राज्यको हो, जनताको हो । राससले एक काखमा जनता र अर्कातिर राज्य राख्नुपर्छ । 

(लेखक राससका पूर्वप्रमुख समाचारदाता हुनुहुन्छ । प्रस्तुत लेख रासस हीरक वर्ष प्रवेशका पूर्वसन्ध्यामा कुराकानीमा आधारित भई लेखिएको हो ।) रासस

प्रतिक्रिया दिनुहोस