गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि आयोगको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, १७ : २५
गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि आयोगको निर्देशन

काठमाडौं ।छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीउपर कारवाहीको माग राखी लामो समयदेखि अनसनरत गङ्गामाया अधिकारीको जीवन रक्षाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको आज बसेको बैठकले नेपाल सरकारलाई देहाय बमोजिमको निर्देशन दिने निर्णय गरेको छ । 

१. आयोगको उच्चस्तरीय अनुगमनबाट गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा निजको उपचारको लागि आवश्यक विशेष व्यवस्था मिलाउन,
 

२. गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मी सहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न,
 

३. कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीमध्येका एक रुद्रप्रसाद आचार्य नेपाल बाहिर रहेको भन्ने सरकारी कागजातहरूबाट समेत देखिएको हुँदा निज जहाँ भए पनि आवश्यक प्रक्रिया पूरा गरी निजलाई अदालत समक्ष शीघ्र उपस्थित गराउन, 

साथै, बैठकले अनसनरत गङ्गामाया अधिकारीलाई आफ्नो जीवनप्रति संवेदनशील बन्दै न्यायको अनुभूति समेतको लागि आफ्नो अनसनलाई स्थगित गर्न अनुरोध गर्दै कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा भैरहेको न्याय सम्पादन प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्याउने कार्यमा सहयोग पुर्याउन सम्बद्ध सबै पक्षलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस