पुनर्स्थापना कि निर्वाचन, कांग्रेस विभाजित

पत्रपत्रिकाबाट

मंगलबार, ०४ फागुन २०७७, ०८ : ००
पुनर्स्थापना कि निर्वाचन, कांग्रेस विभाजित

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रतिनिधिसभा पुनर्स्थापना कि निर्वाचन भन्नेमा विभाजित देखिएका छन्। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार सबै जिल्लामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्ने क्रममा संस्थापन पक्षका नेताहरूले निर्वाचनमा जोड दिएका छन्। संस्थापन इतरका नेताहरूले भने संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने तर्क गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ओली सरकारको चर्को आलोचना गरे पनि सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले निर्वाचनमा जोड दिएका छन्। निर्वाचन आयोगले चुनावको तयारी नगरेको भन्दै सभापति देउवाले असन्तुष्टि जनाए। निर्वाचन आयोगको कार्यक्षमताप्रति नै आशंका व्यक्त गर्दै देउवाले चुनावको तालिका अहिलेसम्म नआएकोमा विरोध जनाए। सभापति देउवा, उपसभापति विमलेन्द्र निधिसहितका नेताले निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादसमेत टुंगो नलागाउँदा वैशाखमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै आयोगलाई आफ्नो काम अघि बढाउन आग्रह गरेका छन्।

तर नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालासहितका नेताले प्रतिनिधिसभा पुनर्स्थापनामा जोड दिएका छन्। संसद् विघटनले संविधान लिकबाहिर गएको जनाउँदै त्यहीलाई पुरानै अवस्थामा फर्काउन पुनर्स्थापना एकमात्र विकल्प भएको उनीहरूको दाबी छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भने पनि कांग्रेसले अहिलेसम्म निर्वाचन वा पुनर्स्थापना, कुनै पनि पक्षमा औपचारिक निर्णय गरेको छैन। नेताहरूले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम अदालतको विषय बनेको जनाउँदै त्यसले गर्ने फैसलालाई स्वीकार गरेर जाने बताउँदै आएका छन्।

सभापति देउवाले भैरहवामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्थासँग नखेल्न निर्वाचन आयोगलाई चेतावनी दिए। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले भन्दा निर्वाचन आयोगले बदमासी गर्न सक्ने उनको भनाइ थियो। देउवाले संसद् विघटन भएको ६ महिनाभित्रै निर्वाचन गराइसक्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै आयोग संविधानभन्दा माथि जान खोजेको टिप्पणी गरे। ‘संसद् विघटन भएको ६ महिनामा चुनाव भइसक्नुपर्छ तर आयोगलाइ चासौ नै छैन। किन उसले चुनावको प्रक्रिया अगाडि बढाउँदैन, शंका गर्नुपर्ने भएको छ,’ देउवाले भने। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस