तेह्रथुम । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीले थिलथिलो भएको मुलुकको अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने बताए । पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको अभिमतमाथि घात गर्दै राज्यकोषबाट ५० अर्ब खर्च गराएर निर्वाचन गराउनु लोकतन्त्र नभएको उनकोे भनाइ थियो ।
निर्वाचनका नाममा बर्बाद पार्ने ५० अर्ब रुपैयाँले ७७ वटै जिल्लामा एक÷एकवटा अस्पताल निमार्ण गर्न सकिने वा सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउन सकिने पुनले उल्लेख गरे । ‘जनताले पाँच वर्ष चलाउन दिएको संसद विघटन गर्ने र ५०औं अर्ब खर्च गरेर चुनाव गर्छु भन्नु कुनै पनि तरिकाले लोकतन्त्रको पक्षमा छैन’, पुनले भने, ‘प्रधानन्त्रीजी तपाईं जनताप्रति जिम्मेवार हुनुहुन्छ ? ५० अर्ब खर्च गरेर गर्न खोजेको के हो ? कस्तो लोकतन्त्रको अभ्यास गर्न खोेको हो ?’
प्रधानमन्त्री ओलीले संविधान मिचेर जनताको अभिमतमाथि विश्वासघात गरी मुलुकलाई प्रतिगमन र अस्थिरताको बाटोमा हिंडाउन खोजेको भन्दै पुनले त्यसलाई सच्याउन प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेकामा जोड दिए । संविधानले सार्वभौमसत्ता र राजकीय अधिकार नेपाली जनतामा रहेको स्पष्ट गरेको भन्दै पुनले विगतमा राजामहाराजाले जसरी राजयकीय अधिकार आफूमा रहेको दाबी गर्नुले प्रधानमन्त्री ओलीमा रहेको निरंकुश चरित्र प्रकट गरेको आरोप लगाए ।
‘प्रधानमन्त्रीका वकिलहरुले हुँदाहुँदा हिजो श्री ५ र श्री ३ मा भएको अधिकार प्रधानमन्त्रीसँग छ भनिरहेका छन्’, पुनले भने, ‘यो निरंकुश, स्वेच्छाचारी र लोकतन्त्रविरोधी तर्क हो । लोकतन्त्रमा सार्वभौमसत्ता र कार्यकारी अधिकार जनतामा हुन्छ ।’
पुनले संविधान, लोकतन्त्र र जनमत बचाउन आफूहरु आन्दोलनमा रहेको भन्दै दमन र बल प्रयोगको धम्की नदिन प्रधानन्त्री ओली र गृहमन्त्री रामबहादुर थापालाई चेतावनी दिए । ‘तपाईंहरुले ७० वर्षसम्म जनताले रगत÷पसिना बगाएर ल्याएको लोकतन्त्रमाथि प्रहार गर्नुभएको छ’, पुनले भने, ‘हामी क्रान्तिकारीहरुलाई बल प्रयोगको धम्की दिन बन्द गर्नुस्, हामी त्यस्ता धम्कीसँग डराउँदैनौं ।’ जनसमर्थन कमजोर भएपछि प्रधानमन्त्री र गृहमन्त्री धम्की र बल प्रयोगको भाषा प्रयोग गर्न थालेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ फागुन २०७७, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली निरङ्कुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस: वर्षमान पुन
मौद्रिक नीति संयमित खालको ल्याउनुपर्छ : वर्षमान पुन
सिनेट बैठक किन रोकेको ? भन्दै प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न
वर्षमान पुन र ओनसरी घर्तीले लिए मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी
सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः वर्षमान पुन
भिजिट भिसा प्रकरण अनुसन्धान गर्न एक महिनाभित्र छानबिन समिति बन्छ : वर्षमान पुन