विदेशीहरूको यौन प्यासको लागि शिविरबाटै बेचिन्छन् रोहिंग्या किशोरी

पत्रपत्रिकाबाट

विहीबार, ०८ चैत्र २०७४, ०९ : ०२
विदेशीहरूको यौन प्यासको लागि शिविरबाटै बेचिन्छन् रोहिंग्या किशोरी

रोहिंग्या समुदायका किशोरीलाई विदेशीहरूको
यौन प्यास मेट्ने साधन बनाइएको  छ

बंगलादेशका विभिन्न शरणार्थी शिविरमा रहेका म्यानमारका किशोरीहरूलाई देहव्यापार गर्न बाध्य पारिएको खुलासा भएको छ । बिबिसीले गरेको एक अनुसन्धानले सो खुलासा गरेको हो । म्यानमारको द्वन्द्वका कारण देश छोड्न बाध्य रोहिंग्या समुदायका किशोरीहरूलाई विदेशीहरूको यौन प्यास मेट्ने साधन बनाइएको सो अनुसन्धानमा देखाइएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

अनवारा १४ वर्षकी भइन् । म्यानमारको हिंसामा दुवै बाबु–आमा गुमाएपछि बेसहारा बनेकी उनी आफन्तसँग केही महिनाअघि बंगलादेश पुगेकी थिइन् । सहयोगको खोजीमा बंगलादेशका सडकमा भौँतारिएकी उनी नाटकीय ढंगमा बेचिइन् । उनलाई व्यस्त कोक्स बजारबाट अपहरण गरी कोठीमा पुर्याएको थियो । नयाँ जीवनको आशा देखाउँदै भ्यानभित्र कोचेर उनलाई वेश्यावृत्ति गर्न बाध्य पारिएको थियो । ‘अपहरणको केही बेरमै पुरुषहरूले निर्घात कुटेर बलात्कार गरे । उनीहरूले जबर्जस्ती यौन दुव्र्यवहार गरे,’ उनी भन्छिन् ।

शरणार्थी शिविरका रोहिंग्या शरणार्थीको तस्कर अहिले सामान्य बनेको छ । तस्करहरूले शिविरका महिला र किशोरीलाई मुख्य निसाना बनाएका छन् । तस्करहरूले विभिन्न प्रलोभन देखाएर किशोरीलाई देहव्यापार गर्न बाध्य पारेका छन् । राजधानी ढाका र विदेशमा घरेलु कामदार, होटेलको कर्मचारी र किचेनमा काम लगाइदिने बहानामा यौन दुव्र्यवहार भइरहेको अध्ययनमा देखाइएको छ । शिविरको अस्तव्यस्तताका कारण तस्करहरूको बिगबिगी बढेको बताइन्छ । शिविरमा पीडादायी जीवन बिताएका रोहिंग्यालाई झुटा आश्वासन देखाएर तस्करहरूले यौनधन्दा तीव्र पारेका छन् ।

कोठीबाट दातृ संस्थाले हालै उद्धार गरेकी १४ वर्षीया मसुदा भन्छिन्, ‘काम लगाइदिने बहानामा मलाई एक महिलाले यौनकार्यमा लगाएकी थिइन् । रोहिंग्या समुदायकै भएकाले ती महिलामाथि विश्वास लागेको थियो, तर उनले कोठीमा पुर्याइदिइन् ।’ उनले आफूमाथि म्यानमारमा सेनाले यौन दुव्र्यवहार गरेको बताइन् ‘मेरो परिवार म्यानमारको युद्धमा बेपत्ता हुनुभयो । मसँग पैसा थिएन । मलाई म्यानमारमा पनि बलात्कार गरिएको थियो,’ उनले थपिन् ।

प्रतिक्रिया दिनुहोस