भागरथीको हत्यामा संदिग्धको सुची : कर्मचारी र शिक्षकतर्फ पनि सोझियो सुई

सफल खबर संवाददाता

आइतबार, ०२ फागुन २०७७, ११ : ४७
भागरथीको हत्यामा संदिग्धको सुची : कर्मचारी र शिक्षकतर्फ पनि सोझियो सुई

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले केही संदिग्ध व्यक्तिहरुको सुची तयार पारेको छ । प्रहरी अधिकारीहरुका अनुसार संदिग्ध व्यक्तिहरुको सुचीमा सरकारी कर्मचारी र शिक्षकसम्म रहेका छन् । प्रहरीले अनुसन्धानको घेरामा कर्मचारी र शिक्षकलाई समेत राखेको छ । अनुसन्धान सकारात्मक दिशातर्फ अगाडि बढेको प्रहरीको भनाइ । 

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्किएकी थिइनन् । उनी २१ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । डाक्टरको रिर्पोटअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । 

पोस्टमार्टम रिपोर्टबाट भागरथीको बलात्कारपछि हत्या भएको खुलेको थियो । उनको घाँटी थिचेर हत्या गरिएको रिपोर्टमा उल्लेख छ । अनुसन्धान टोलीको नेतृत्व गर्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैँ बैतडी पुगेर अनुसन्धानमा खटिएका छन् । संदिग्धको सूचीमा सरकारी कर्मचारी, शिक्षक, चिनजानका अन्य व्यक्तिलाई प्रहरीले उच्च निगरानीमा राखेको छ । 

अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोलीले अनुसन्धानलाई व्यापक बनाएका छन् । अपराधी पत्ता लगाउन कुकुरसमेत परिचालन गरेको छ । ‘चिनजानका मान्छे, शिक्षक, कर्मचारी संदिग्धको घेरामा छन्, अनुसन्धानलाई केही साँघुरो बनाइएको छ’ प्रहरी स्रोतले भन्यो, ‘अपराधी पत्ता लाग्न धेरै क्लुहरु फेला पर्न थालेका छन् ।’

प्रहरीले भागरथीले प्रयोग गर्दै आएको मोबाइललगायत अन्य केही सामग्रीको फरेन्सिक ल्याबबाट अनुसन्धान भइरहेको छ । भागरथीको मोबाइल भेट्नुलाई प्रहरीले सकारात्मक मानेको छ । हत्या हुनु अघि र पछि मोबाइलमा कसैको फोन आएको छैन । जसका कारण प्रहरीलाई अझ केही समस्याहरु थपिएका छन् । प्रहरीले पछिल्ला दिनहरुमा भागरथीका साथीलगायतका अन्य शंकास्पदहरुसँग सोधपुछ गरिरहेको छ । यसबाहेक प्रहरीले कल डिटेल, भागरथीको फेसबुकलगायतको पनि अनुसन्धान अघि बढाएको छ । 
 

प्रतिक्रिया दिनुहोस