कांग्रेसमा बिर्सिइँदै गिरिजाप्रसाद कोइराला

पत्रपत्रिकाबाट

विहीबार, ०८ चैत्र २०७४, ०६ : ४८
कांग्रेसमा बिर्सिइँदै गिरिजाप्रसाद कोइराला

काठमाडौं । आठ वर्षअघि कांग्रेसको सभापतिकै रूपमा गिरिजाप्रसाद कोइरालाको निधन भएको थियो। बुधबार उनको स्मृति दिवस मनाइरहँदा कांग्रेसले यो अवधिमा अर्का दुई नेतालाई सभापतिको रूपमा पाइसकेको छ ।

कोइरालाको निधनपछि उनकै परिवारिक विरासत धान्दै सुशील कोइरालाले पार्टीको बागडोर सम्हाले। अढाई वर्षअघि उनको पनि सभापति रहँदै निधन भएपछि पार्टी शेरबहादुर देउवाको हातमा गएको छ। देउवा १३ औं महाधिवेशनबाट सभापति चयन भएका हुन्।

नेपाली राजनीतिको पछिल्लो परिवर्तनको नेतृत्व गरेपछि गिरिजालाई सबैले आ–आफ्नै ढंगले सम्मान दिने गरेका छन्। ०४६ को परिवर्तनपछि लगातार पार्टीमा हाबी बनेका उनी विवादमुक्त भने थिएनन्। उनी सभापति रहँदै विवाद चुलिँदा देउवाले नयाँ पार्टी खोलेका थिए।

हालैको निर्वाचनमा कांग्रेसले पराजय व्यहोरेपछि देउवानिकटस्थले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पहिलो संविधानसभामा कांग्रेसले व्यहोरेको हारसँग तुलना गर्ने गरेका छन्। निर्वाचन परिणामपछि तीव्र आलोचना हुन थालेपछि देउवा निकटस्थहरूले गिरिजाप्रसाद कोइरालासँग तुलना गराएर पार्टीभित्रको प्रतिपक्षी गुटलाई सामसुम पार्न खोजेको देखिन्छ।

कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक शंकर तिवारी भन्छन्, ‘गिरिजा र सुशील कोइरालासँग देउवाको तुलना गर्न मिल्दैन। गिरिजा सुरुमा पार्टी र सरकार दुवै चलाउन असफल देखिए पनि अन्तिम कालखण्डमा आएर सफल भएर गए। सुशील कोइरालाको नेतृत्वमा पार्टी पहिलो दल बन्यो र उनकै नेतृत्वको सरकारको पालामा संविधान जारी भयो। जसकारण यी दुवैभन्दा देउवा बढी विवादमा देखिएका हुन्।’
अहिलेका सभापति देउवामाथि पनि पछिल्लो समय पार्टीभित्रका सबैलाई समेट्न नसकेको आरोप लाग्ने गर्छ। कोइरालाको आठौं स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा पुगेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने, ‘गिरिजाबाबुको स्मृति दिवस पार्टीको ब्यानरमा नहुनु दुःखद हो।’

काठमाडौंमा जीपी कोइराला अध्ययन प्रतिष्ठानले गिरिजाको स्मृतिमा कार्यक्रम गरिरहँदा कांग्रेसका शीर्ष नेता नुवाकोटमा पार्टी कोषाध्यक्षहरूको राष्ट्रिय भेलामा सहभागी थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस