झाँक्रीलाई अमिल्दो अभियोग

पत्रपत्रिकाबाट

शुक्रबार, ३० माघ २०७७, ०७ : २८
झाँक्रीलाई अमिल्दो अभियोग

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षकी युवा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिउपर राज्यविरुद्धको कसूरको प्रावधान अमिल्दो भएको धारणा कानुनविद्हरुको छ ।

कानुनविद्हरुले नेतृ झाँक्रीले केही समयअघि गोरखामा आयोजित एक समारोहमा दिएको अभिव्यक्तिका कारण राज्यविरुद्ध कसूरको दफा ५८ अन्तर्गत पक्राउ गरिएपछि सो धारणा अघिसारेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेर अभिव्यक्ति दिँदै आएकी नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पटक–पटक ‘बडामहारानी’को संज्ञा दिएकी थिइन् ।

यही अभिव्यक्तिको आधारमा बिहीबार महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ को आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने व्यवस्था छ ।

सो दफा १ मा लेखिएको छ– ‘कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिनहुँदैन ।’यस्तो कसूर प्रमाणित भएमा कसूरदारलाई ७ वर्ष कैद वा ७० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

झाँक्रीको अभिव्यक्तिले राष्ट्रपतिको कार्यसम्पादनमा रोक लगाउने वा वञ्चित गराउने कुनै काम नभएको कानुनविद्हरु बताउँछन् ।
 नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने– ‘गाली बेइज्जती भए अर्कै कुरो हो । नेतृ झाँक्रीको अभिव्यक्तिले राष्ट्रपतिलाई कुनै काम गर्न अवरोध वा नगर्न बल पु¥याएको छैन ।’ नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस