इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु

रासस

मंगलबार, २७ माघ २०७७, १५ : ५४
इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु

तेहरान । कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान इरानमा पनि सुरु भएको छ । महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ । पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरु धेरै देशहरुभन्दा पछाडि परेको हो ।

“हामीले पनि कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्यौँ, यो देशव्यापी अभियान हो, सुरुमा स्वास्थ्यकर्मीहरुलाई लगाउने छौँ भने त्यसपछि प्राथमिकता क्रमका आधारमा सबैलाई लगाउने छौँ,” राष्ट्रपति हसन रौहानीले भने। 

कोरोनाभाइरसविरुद्ध रुसमा विकास गरिएको स्पुट्नीक भी नामक खोप इरानमा लगाउन थालिएको हो । खोप गत बिहीबार इरान ल्याइएको थियो ।

“रुसबाट २० लाख स्पुट्नीक खोप इरान ल्याइएको छ,” इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनौश जहानपौरले भने ।

मुस्लिम गणतन्त्रात्मक मुलुक इरानका स्वास्थ्य मन्त्री सइद नमाकीले देशभरी १४ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिए । 

उनका अनुसार इरानमा अहिलेसम्म कोरोनाका कारण ५८ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।(रासस एएफपी) 

प्रतिक्रिया दिनुहोस