भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन: गृहमन्त्री थापा

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, ०९ : ५३
भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन: गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी किशोरी भागरथी हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् ।

आज बिहान नेपाल विद्यार्थी संघ नेविसंघ को ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले अनुसन्धान जारी रहेकाले छिट्टै सफलता हात पर्ने बताएका हुन् ।कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै मन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजायँ पाउने बताएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

सरकारको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित रहेको भन्दै गृहमन्त्री थापाले अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाजलगायत सबैको सहयोगको सरकारले अपेक्षा गरेको पनि बताएको अर्का महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका नेताहरु आज बिहान गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउन पुल्चोकस्थित मन्त्री निवासमा पुगेका थिए । उनीहरुले गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन ध्यानाकर्षण गराएका थिए । अन्यथा नेविसंघ कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको महामन्त्री भट्टराईले बताए ।

विगतमा निर्मला पन्त, सम्झना विक लगायतका किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा ती घटनाका अपराधीहरुलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी कमजोरी भएकाले नै समाजमा अमानवीय र क्रूर घटनाले प्रश्रय पाउँदै गएको भन्दै नेविसंघ नेताहरुले शान्ति सुरक्षाको दायित्व पूरा गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस