एक वर्षमा रोयल्टीवापत उठ्यो साढे ५ अर्ब

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, ०८ : ५७
एक वर्षमा रोयल्टीवापत उठ्यो साढे ५ अर्ब

काठमाडौं । नेपालमा विभिन्न प्राकृतिक स्रोतको उपभोगबाट एक वर्षको अवधिमा साढे ५ अर्ब रुपैयाँ रोयल्टी संकलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६र७७ मा रोयल्टी संकलनबाट कुल ५ अर्ब ४३ करोड ९ लाख ३८ हजार ३ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । यो रकम तीन वटै तहमा बाँडफाँट भएको छ । मन्त्रालयका अनुसार ५ माघको मन्त्रिपरिषद् बैठकले रोयल्टीवापत उठेको रकम बाँडफाँट गर्ने निर्णय गरेको थियो ।

त्यसअगाडि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सूत्रका आधारमा अर्थ मन्त्रालयले रकम बाँडफाँट गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार संघीय विभाज्य कोषमा एक वर्षभर जम्मा भएको रकमलाई तीन वटै तहका सरकारले पाउनु पर्ने विभाजन अन्तर्गत बाँडफाँट गरिएको हो । मन्त्रिपरिषदको निर्णयसँगै अर्थले बाँडफाँट भएको रकम निकासा गर्न महालेखा नियन्त्रक कार्यालयलाई पत्रसमेत काटिसकेको छ ।

महालेखा नियन्त्रक कार्यालयको विवरण अनुसार एक वर्षको अवधिमा बाँडफाँट भएको रोयल्टीबाट सबैभन्दा ठूलो रकम विद्युत रोयल्टीवापत संकलन भएको हो । तथ्यांक अनुसार विद्युत रोयल्टीबाट मात्र २ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

पर्वतारोहणबाट मात्र १६ करोड ८८ लाख रुपैयाँ राजस्व उठेको छ । सामान्ययता पर्वतारोहणबाट ५० करोड हाराहारी रोयल्टी उठ्ने गरेको थियो । तर, कोरोना भाइरस संक्रमणका कारण गत वर्ष वसन्त ऋतुमा सगरमाथा आरोहण बन्द भएपछि रोयल्टीको आम्दानीमा समेत ठूलो असर परेको छ ।

यद्यपि पर्वतारोहण रोयल्टीतर्फ सबैभन्दा ठूलो रकम सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पाएको छ । गाउँपालिकाले हिमालको रोयल्टीमात्रै १ करोड ३४ लाख ४२ हजार ८ सय २४ रुपैयाँ प्राप्त गरेको छ । संसारको सर्वोच्च शिखर सगरमाथा यसै गाउँपालिकामा पर्छ ।

प्रतिक्रिया दिनुहोस