यी हुन् बक्यौता नतिरी भाग्ने एयरलाइन्सका साहूहरु, कसले कति तिरेनन् ? (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०७७, १० : ४२
यी हुन् बक्यौता नतिरी भाग्ने एयरलाइन्सका साहूहरु, कसले कति तिरेनन् ? (सूचीसहित)

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल बन्द अवस्थामा रहेका ११ एयरलाइन्स कम्पनीलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ । उनीहरु बक्यौता नतिरी भागेका थिए । प्राधिकरणले सोमबार एक सूचना निकाल्दै उनीहरुले बुझाउनुपर्ने बक्यौता रकम पटक पटक सूचना गर्दा पनि नबुझाएकाले पुनः ३० दिनको अल्टिमेटम दिएर बक्यौता बु्झाउन भनेको हो ।

प्राधिकरणका अनुसार बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेज रहेका छन् । ती एयरलाइन्स अहिले बन्द अवस्था रहेपनि बक्यौता रकम भने तिरेका छैनन् ।

प्राधिकरणको सूचनाअनुसार तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने स्पष्ट गरिएको छ भने प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवम् जमानी बस्नेहरुको जयजेथाबाट सरकारी बाँकी सरह असूल उपर गरिने उल्लेख गरिएको छ ।

प्राधिकरणका अनुसार नेकोन एयरका सञ्चालकहरुमा दिपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्द भक्त श्रेष्ठ, रविन्द्र श्रेष्ठ, नगेन्द्र जोशी, भरतराज उप्रेती, कृष्ण श्रेष्ठ र गोपाल सुन्दर कक्षपती रहेका छन् । सो एयरलाइन्सले प्राधिकरणलाई ४ करोड ७० लाख ६० हजार ७५५ रुपैयाँ तिर्न बाँकी रहेको छ । 

यसैगरी शिवानी एयरका मणिन्द्र लाल रंजितकारले ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी रहेको छ भने अल्पाइन एयरका सञ्चालकहरु प्रदिपमान सिंह, सुरेन्द्र बहादुर मल्ल, महेश्वर भक्त श्रेष्ठले ७२ हजार ७२८ रुपैयाँ बक्यौँता तिर्न बाँकी रहेको छ । 
उता गोरखा एयरले २० लाख ३५ हजार २९ रुपैयाँ तिर्नु रहेको छ । सो एयरका सञ्चालकमा प्रज्वल श्रेष्ठ र उज्वल श्रेष्ठ रहेको प्राधिकरणले जनाएको छ । यसैगरी कर्णाली एयरले १७ लाख ४६ हजार ३०० बक्यौता तिर्न बाँकी रहेको छ भने सो एयरका सञ्चालकमा नारायण सिंह पुन र सविना राई पुन रहेका छन् ।

यसैगरी प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा, शिवेन्द्र बहादुर बस्नेत सञ्चालक रहेको माउन्टेन एयरले १२ लाख ७३ हजार ६९४ रुपैयाँ बक्यौता तिर्नुपर्ने देखिएको छ भने कस्मिक एयरका रविन्द्र प्रसाद प्रधानले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ तिर्नुपर्ने देखिएको छ । सांग्रिला एयरमा एक दर्जनको हाराहारीमा सञ्चालक रहेकोमा सो एयरले १५ लाख ३७ हजार ८०० बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । सो एयरको सञ्चालकमा महेशमान सिंह, रञ्जु सिंह, किशोर सिलवाल, उदय विश्वम्भर दास श्रेष्ठ, सुशीलमान सिंह, राजेन्द्रलाल मास्के, उस्वी श्रेष्ठ, ज्ञान बहादुर श्रेष्ठ, उषा प्रधान, एकराज जंग थापा, शोभा मास्के, रतनबहादुर लामिछाने, रेखा श्रेष्ठ र सुधा भट्टराई रहेका छन् । 

यसैगरी स्काइलाइन एयरवेजले पनि १५ लाख ५० हजार ४ सय बक्यौता दिनुपर्ने देखिएको छ । सो एयरवेजको संचालकमा आङ छिरिङ शेर्पा, पेम्बा छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, तेन्जिङ नोर्बु शेर्पा र यादव खरेल रहेका छन् । यस्तै काष्ठमण्डप एयरको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ, हमाद अली जावोर (कतार) रहेका छन् भने उनीहरुले ७ लाख ३८ हजार ४४७ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।

यस्तै नेपाल एयरवेजका प्रदिप जंग राणाले ५ लाख ५० हजार ५४ रुपैयाँ बक्यौता रहेको छ । यस्तै प्राधिकरणले हाल सञ्चालनमा रहेका वायुसेवा कम्पनीलाई समेत नियमानुसार बुझाउनुपर्ने रकम निर्धारित अवधिभित्र बुझाउन सूचित गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस