१७९ यात्री सवार अमेरिकन एयरलाइन्स विमानको गियरमा आगो लागेपछि...

एजेन्सी

आइतबार, ११ साउन २०८२, ०९ : ०६
१७९ यात्री सवार अमेरिकन एयरलाइन्स विमानको गियरमा आगो लागेपछि...

एजेन्सी । अमेरिकाको डेनवर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ठूलो दुर्घटना टरेको छ ।

अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ फ्लाइट विमानमा उडानअघि नै प्राविधिक खराबी भएको पत्ता लागेको थियो । एकैछिनमा विमानको ल्यान्डिङ गियरमा आगलागी भयो । यात्रीलाई रनवेमा नै आपत्कालीन प्रक्रियामार्फत बाहिर निकालियो ।

यो घटनामा कुनै ठूलो क्षति भएन । एकजनालाई सामान्य चोट लागेको र उनलाई अस्पताल भर्ना गरिएको छ ।

अमेरिकन एयरलाइन्सका अनुसार, उडानअघि विमानमा टायरसँग सम्बन्धित मर्मतसम्भारको समस्या देखिएको थियो । त्यति बेला यसलाई गम्भीर मानिएको थिएन ।

तर, रनवेमै खडा भएको विमानमा अचानक आगलागी हुनुले समस्या ठूलो भएको संकेत गर्छ । विमान बोइङ ७३७ म्याक्स ८ मोडलको थियो । र, यो मियामी अन्तर्राष्ट्रिय विमानस्थलका निम्ति प्रस्थान गर्ने तयारीमा थियो ।

अधिकारीहरूका अनुसार, विमानमा कुल १७३ यात्री र चालक दलका ६ सदस्य सवार थिए । पाँचजनाको स्वास्थ्य जाँच घटनास्थलमै गरिएको थियो । एकजनालाई सामान्य चोट लागेकाले गेटमा जाँचका निम्ति लगियो । र, पछि उनलाई अस्पताल पठाइयो ।

एयरलाइन्सले सबै यात्री र चालक दललाई सुरक्षित रूपमा उतारिएको र विमानलाई पूर्ण जाँच गर्न र मर्मतका निम्ति सेवाबाट हटाइएको जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा यात्री स्लाइडमार्फत तल झर्दै र धुवाँमा घेरिएको विमानबाट टाढा जाँदै गरेका देख्न सकिन्छ ।

अमेरिकन फेडरल एभिएसन एडमिनिस्ट्रेसनले यो घटनाको जाँच सुुरु गरिसकेको छ । घटनाका कारण डेनवर विमानस्थलमा केही समयका निम्ति रनवे बन्द गरिएको थियो । केही उडान प्रभावित भएका थिए । 

प्रतिक्रिया दिनुहोस