चितवनमा पहिलो चरणको खोप अभियान सम्पन्न

रासस

आइतबार, २५ माघ २०७७, १० : ०९
चितवनमा पहिलो चरणको खोप अभियान सम्पन्न

चितवन । पहिलो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । जसमा छ हजार ९४० जना सहभागी भएका छन् । यही माघ १३ गतेदेखि शुरु गरिएको पहिलो चरणको खोप अभियान शनिबार सम्पन्न भएको छ ।

शनिबारसम्ममा भरतपुर अस्पतालको केन्द्रबाट तीन हजार ७२९ ले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । त्यस्तै पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालबाट ४००, बघौडा अस्पताल माडीबाट ८९, चितवन मेडिकल कलेजबाट एक हजार ४०, कलेज अफ मेडिकल साइन्सेजबाट ८०८, वृद्धाआश्रमबाट १८९ र कारागार कार्यालय चितवनबाट  ६८३ जनाले खोप लगाएका हुन् । खोप शुरु भएको पहिलो दिन २७९ ले खोप लगाएका थिए ।

यो सङ्ख्या बढेर एकैदिन खोप लगाउने एक हजार २५७ सम्म पुगेको थियो । जिल्लालाई दिइएको लक्ष्यमा ९१ दशमलव पाँच प्रतिशत सफलता पाएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए । खोप लगाइसकेपछि आठ जनामा सामान्य प्रतिक्रिया देखिएको भए पनि त्यस्तो अप्रिय घटना हुन नपाएको उनको भनाइ छ । 

खोप लगाएकामध्ये चार जनालाई डाबर उठ्ने र चार जनालाई ज्वरो आएको भरतपुर अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस