भारतको २०२१/२२ को बजेट सार्वजनिक, स्वास्थ्य बजेट १३७ प्रतिशत बढ्यो

एजेन्सी

सोमबार, १९ माघ २०७७, १३ : ३४
भारतको २०२१/२२ को बजेट सार्वजनिक, स्वास्थ्य बजेट १३७ प्रतिशत बढ्यो

 काठमाडौं । भारतले आगामी अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२१ /२२ को बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार पहिलोपटक ट्याबलेटबाट पेस गरिएको हो । सोमबार बजेट भाषणको क्रममा सबै सांसदलाई पनि बजेटको डिजिटल कपी दिइएको थियो ।

बजेट भाषणको क्रममा सितारमणले भारतले एकसयभन्दा धेरै मुलुकलाई कोरोना खोप दिने बताएकी थिइन् । कोरोना महामारी अहिले विश्वभर फैलिएको अवस्थामा भारतले खोपका लागि तीन खर्ब ५० अर्ब भारु छुट्याएको छ । भारतले यस वर्षको स्वास्थ्य बजेट १३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८ अर्ब ४६ करोड पुर्‍याएको छ ।

भारतले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाउँदै ७४ प्रतिशत पुर्‍याउने बताएको छ । साथै सरकारी बैंकहरुलाई दुई खर्ब राहत दिने निर्णय गरेको छ । त्यस्तै वायुप्रदूषण नियन्त्रणको लागि २२ अर्ब १७ करोड भारु छुट्याइएको छ । त्यस्तै सन् २०२२ सम्म किसानहरुको आम्दानी दोब्बर बनाउने भारतको योजना छ ।

भारतले आत्मनिर्भर अभियानलाई पनि यस वर्षको बजेटमा जोड दिएको छ । त्यसका लागि सरकारले त्यसको स्वरुपमा सुधारको कार्यलाई बढाएको छ । भारतको आत्मनिर्भर स्वस्थ भारतक योजनाको लागि ६ वर्षमा ६ खर्ब ४१ अर्ब ८० करोड भारु छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस