प्रधानमन्त्री ओलीले भाषण गर्न  किन रोज्दैछन् नारायणहिटीको आँगन ?

सोमबार, १९ माघ २०७७, ०७ : ४३
प्रधानमन्त्री ओलीले भाषण गर्न  किन रोज्दैछन् नारायणहिटीको आँगन ?

काठमाडौँ । बहुदल आउनुअघि हुने पञ्चर्‍यालीहरूलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफैं सडकमा ओर्लिनु बहुदलयताको पहिलो र दुर्लभ घटना हो । बहुदलपछि यसअघि पनि प्रतिनिधिसभा विघटन नभएको होइन तर निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी सर्वोच्चको फैसला नआउँदासम्म सडकमा शक्ति देखाउन गएका थिएनन् ।

गत माघ ९ गते नेकपाको दाहाल–नेपाल समूहले भृकुटीमण्डपमा गरेको सभालगत्तै प्रधानमन्त्री ओलीले भनिदिए, ‘साँघुरो गल्लीमा मान्छे जम्मा पार्दैमा आमसभा हुँदैन । जनपरिचालन र आमसभा कस्तो हुन्छ, २३ गते हेर्नुस्, हामी देखाइदिन्छौं ।’ २३ गते आमसभा हुन्छ भनेर ओलीले सार्वजनिक कार्यक्रमबाटै घोषणा गरेपछि मात्रै उनको ‘कोर टिम’ मा रहेका नेताहरूले त्यसको भेउ पाएका हुन् । सत्ता नै सडकमा ओर्लिर्एर ‘देखाउन’ खोजेको सभाको मञ्च नारायणहिटी दरबार संग्रहालयको छेउमा राखेर ओलीले आउँदो २३ गते महेन्द्रको सालिकतिर फर्किंदै भाषण गर्दै छन् ।

संग्रहालय बन्नुअघि निरंकुश भनेर फालिएको राजतन्त्रको अवशेष नारायणहिटीमा नहोला तर दरबारिया र राजतन्त्रलाई माया गर्नेहरूका लागि पुरानो शासन व्यवस्था सम्झाउने ठाउँ भने हो । यो पृष्ठभूमिमा समकालीन नेपाली राजनीतिमा आफूलाई संस्थापन देखाउन भरमग्दुर प्रयास गरिरहेका कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले सभा गर्ने र सम्बोधन गर्ने ठाउँ नारायणहिटीको आँगनलाई नै बनाउनुको कारण के होला ?

नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले धर्मनिरपेक्षता र गणतन्त्रको उपलब्धिविरुद्धमा ओलीको पछिल्लो गतिविधिकै सिलसिलास्वरूप उक्त ठाउँ चयन गरिएको हुन सक्ने भन्दै त्यसले आफू अचम्ममा परेको बताए । ‘नारायणहिटी अघिल्तिर सभा हुँदै छ रे भन्ने सुन्दा म पनि छक्क परें, त्यो त हामीले २०४६ देखि आन्दोलन गरेको ठाउँ हो, सरकार नै गएर आन्दोलन गर्ने भनेको के हो, मैले बुझेको छैन तर पक्कै अर्थ छ,’ उनले भने, ‘सरकार सडकमा आउने भनेको मरीचमानको पालामा मात्रै थाहा थियो मलाई त । उनको मनमा के–कस्तो कुरा छ, ओली आफैं जानून् तर राममन्दिर, पशुपतिदेखि नारायणहिटी अघिल्तिरसम्मको कुरा आपसमा कनेक्टेड हुन् र हामीलाई अचम्म बनाउने विषय पनि हुन् ।’

उनका विगतका नजिरले ओलीलाई धर्मप्रति आशक्त भनेर व्याख्या गर्नुपर्ने त्यतिविघ्न कारण भेटिन्नन् तर पार्टीभित्र र बाहिर पनि आलोचनाको अत्यधिक सिकार बन्दै गएपछि आफूलाई जोगाउन गरेका प्रयासले कहिले उनलाई अति दक्षिणपन्थीजस्तो र कहिले अति अग्रगामीजस्तो देखाइदिएको छ । आफ्नो वरिपरिको ठूलो समूहले विश्वास गर्न छोडेपछि उनको ध्यान पूर्वपञ्चहरूतर्फ मोडिएको विश्लेषण पनि हुन थालेको छ । उनीहरूकै मन जित्न ओली नारायणहिटी दरबार अघिल्तिर उभिएर विरोधीहरूमाथि औंला उठाउने यत्नमा छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस