मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ: प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०८२, ११ : १०
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ: प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुस्ताङबाट प्रतिनिधित्व गर्ने संघीय सांसदसहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग गए राति प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलका प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् । 

यही असार २४ गतेको गोसाईंकुण्ड गाउँपालिका-२ मा आकस्मिक बाढीका कारण नेपाल-चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकै दिन प्रधानमन्त्री ओलीले सो क्षेत्रको स्थलगत भ्रमण गरी वैकल्पिक मार्ग र नाका पूर्ण सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले आफूले बेनीघाट-कोराला बाटो निर्माण सुरु गरेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथको भ्रमण गराएको, मुक्तिनाथ केवलकार सञ्चालनका लागि प्रक्रिया अघि बढाएको, स्याउको सुपर जोन निर्माण र च्याङ्ग्रा पालन आदि काममा प्राथमिकता दिएको पनि स्मरण गराए । 

प्रधानमन्त्री ओलीसँग प्रतिनिधिमण्डलले मुस्ताङको माथिल्लो भेगका लोमान्थाङ र लो-घेकार दामोदर कुण्ड गाउँपालिका क्षेत्रमा नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरी प्रति विदेशी पर्यटक ५०० अमेरिकी डलर शुल्क उठाउँदा पर्यटकहरूमा कमी आएकाले पर्यटन रोयल्टीबारे पुनः विचार गर्न माग गरेको थियो । 

साथै कालिगण्डकी करिडोरको कागबेनी–कोरला सडक खण्डमा कालोपत्र गर्न र आवश्यक संरचना निर्माण गरी कोरला नाकामा पूर्णरुपमा सञ्चालनमा ल्याउन माग गरिएको थियो । कोराला नाकामा भन्सार, अध्यागमन, एकीकृत सुरक्षा पोष्ट, सुख्खा बन्दरगाहलगायत व्यापारिक प्रतिष्ठानका भौतिक निर्माण आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराइएको छ । सडक र नाका पूर्ण सञ्चालन नहुँदा तथा निषेधित क्षेत्रको कार्यान्वयनका कारण माथिल्लो मुस्ताङका होटेल तथा स्थानीय व्यवसायी घाटामा रहन बाध्य भएको जनप्रतिनिधिको गुनासो थियो ।

प्रतिनिधिमण्डलमा संघीय सांसद योगेन्द्र गौचन थकाली, लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए। कागबेनी–कोरला सडक खण्ड ९७ किलोमिटर कालोपत्रका लागि ठेक्का हुन बाँकी रहेको छ भने तातोपानी खोला, दाना खोला, पाण्डा खोला, तान्ग्बे खोलामा पुल निर्माणमा ठेक्का तोडिएकाले पुनः सुचारु गर्नुपर्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस