मुग्लिनको आर्क ब्रिजमा दसैँदेखि गाडी गुड्ने

पत्रपत्रिकाबाट

मंगलबार, ०६ चैत्र २०७४, ०८ : ०१
मुग्लिनको आर्क ब्रिजमा दसैँदेखि गाडी गुड्ने

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिजको ७० प्रतिशत निर्माण सकिएको खबर आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ ।

०७५ असारसम्म सम्पूर्ण काम सक्ने गरी निर्माण भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । तनहुँ र चितवन जोड्ने ‘आर्क डिजाइन’मा निर्माण भइरहेको पुल इलाइट एड्भेन्चर र लोहनी जेभी कम्पनीले गरिरहेका छन् । इन्जिनियरिङ पनि नेपाली इन्जिनियरकै छ ।

कुल १६० मिटर लम्बाइको यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक छ । यो राज्यको लगानीमा निर्माण भइरहेको देशकै सबैभन्दा लामो पुल हो । यसअघि, चोभारको सिमेन्ट कारखानानजिकै आर्क डिजाइनमा ८० मिटर लामो पहिलो पुल निर्माण गरिएको सडक विभाग, पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए ।

दसैँदेखि पुल प्रयोगमा
निर्माण कम्पनीले आगामी दसैँसम्ममा यो पुल प्रयोगमा ल्याउने बताएको छ । निर्माणाधीन पुल सम्पन्न गरिएपश्चात् दुईतर्फी सवारी आवागमन सहज हुनेछ । तोकिएको समयमा निर्माण गरिसक्न दैनिक २५ जना कामदार खटिएको शर्माले बताए ।

किन आर्क ब्रिज ?
'नेपालजस्तो भूगोल भएको देशमा आर्क ब्रिजको निर्माण महत्वपूर्ण मानिन्छ । खोँच र गल्छी परेका भूभागमा यस्ता पुलले थप सौन्दर्य दिन्छ । यो डिजाइनको पुलको बीचमा पिलर राखिँदैन । यो पुलको अर्को आकर्षण हो । नेपालका अन्य ठाउँमा पनि यसप्रकारका पुल शृंखलाबद्ध रूपमा निर्माण गर्ने तयारी भइरहेको छ ।' -अर्जुनजंग थापा, प्रमुख, पुल महाशाखा, सडक विभाग

प्रतिक्रिया दिनुहोस