कोरोनाविरुद्ध खोप लगाएका चितवनका चिकित्सक भन्छन्– केही हुँदोरहेनछ, ढुक्कले लगाउँदा हुन्छ

सफल खबर संवाददाता

बुधबार, १४ माघ २०७७, १५ : ०३
कोरोनाविरुद्ध खोप लगाएका चितवनका चिकित्सक भन्छन्– केही हुँदोरहेनछ, ढुक्कले लगाउँदा हुन्छ

चितवन । चितवन जिल्लाको तीन अस्पतालबाट एकसाथ कोरोनाविरुद्धको खोप लगाइएको छ । चितवनको भरतपुर महानगरपालिकामा रहेको भरतपुर अस्पताल, रत्ननगर नगरपालिकामा रहेको रत्ननगर बकुलहर अस्पताल र माडी नगरपालिकामा रहेको बघौडा अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइएको हो ।  

कोरोनाविरुद्धको खोप लगाएका चितवनका चिकित्सकहरुले खोपले कुनै गम्भीर असर नगर्ने हुनाले ढुक्कले लगाउन सबैमा अपिल गरेका छन् ।भरतपुर अस्पतालमा निमित्त मेसु डा जगन्नाथ तिवारीले कोरोनाविरुद्धको खोपले कुनै असर नगर्ने बताए । खोप लगाएपछि उनले भने, ‘केही हुँदोरहेनछ, ढुक्कले लगाए हुन्छ ।’ भरतपुर अस्पतालमा सबैभन्दा पहिला उनले खोप लगाएका थिए । खोप लगाउनेहरुलाई कुनै द्विविधा हुन्छ कि भनेर म आफैँले पहिलो पटक खोप लगाएको उनी बताउँछन् । 

भारतबाट अनुदानमा आएको खोप चितवनमा पनि लगाउन सुरु गरिएको हो । भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले पहिलो चरणमा भरतपुर अस्पतालका फ्रन्टलाइनरमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई खोप लगाइएको बताए । उनले पहिलो चरणको खोप अभियान चितवनमा ९ दिनसम्म चल्नेछ । 

डा अधिकारीले कोरोनाको खोप लगाउन कुनै डर नहुने बताए । उनले भने, ‘कुनै डर मान्नुपर्ने अवस्था छैन, भारतमा यो खोप ४० लाखभन्दा बढीले लगाएका छन्, सामान्य समस्याबाहेक कसैलाई केही भएको छैन, आत्तिनुपर्ने कुनै कारण छैन ।’ उनी कोरोनाविरुद्धको खोपमा कुनै साइडइफेक्ट नभएको बताए । लगाउनेबेला अलिअलि दुग्छ, कसैलाई सामान्य चिलाउने, हलुका टाउको दुख्ने हुनसक्छ, तर गम्भीर प्रकारको कुनै समस्या नआउने बताए । 

स्वास्थ्य कार्यालय चितवनका प्र्रमुख दीपक तिवारीले कोरोनाविरुद्धको खोप ढुक्क भएर लगाउन सबैमा आग्रह गरका छन् । भरतपुर अस्पतालमा कोरोनाविरुद्धको खोप शुभारम्भ अभियानमा उनले एक वर्षपछि खोप लगाउनु पाइनु नै ठूलो सफलता भएको बताए । उनले दोस्रो चरणमा ५५ वर्षका माथिकाले खोप लगाउने बताए । 

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबैभन्दा बढी कोरोनाको जोखिममा स्वास्थ्यकर्मी भएका कारण सरकारले पनि पहिलो फेजमा स्वास्थ्यकर्मीलाई नै खोप दिएको बताए । कोरोनाविरुद्धको खोृप अभियानमा डा युवानिधी बसौला, बागमती प्रदेश सांसद विजय सुवेदीलगायतले कोरोनाविरुद्धको खोपले खोपले असर नगर्ने बताएका थिए । 

१३ वटै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको खोप 
बागमती प्रदेशमा १३ वटै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै अभियान सुरुवात गरेका हुन् । 

बागमती प्रदेशमा बुधबारसम्म कोरोनाको कारण ४४ जना आईसियुमा, १३ जना भेन्टिलेटरमा र ५७ जना गम्भिर अवस्थाका विरामी छन् । यस्तै अहिले बागमती प्रदेशमा २ हजार ३ सय १९ जना कोरोना संक्रमितहरु उपचाररत छन् । अहिलेसम्म बागमती प्रदेशमा ९८ प्रतिशत संक्रमितहरुको सफल उपचार भइसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस